Bagmati Samachar Logo

प्रेमिकालाई सुन्दरीजल पुर्‍याएर हत्या, दुई जना मिलेर टाउकोमा ढुंगाले हाने

काठमाडौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका– १, सुन्दरीजलमा युवतीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी रामदुलारीलाई उनकै प्रेमी रामविनय महराले हत्या गरे प्रहरीले जनाएको छ ।

गएको बिहीबार सुन्दरीजलस्थित बोक्सेदहको ढुंगाको कापमा टाउकोमा चोट लागेको अवस्थामा युवतीको शव भेटिएको थियो । हत्या भएको आशंकासहित अनुसन्धान गर्दै जाँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका– ३ का ४० वर्षीय रामविनय महरा र उनका फुपाजु बसगरिया गाउँपालिका– ५ घर भएका २४ वर्षीय सन्तोषराम महराले योजनाबद्ध ढंगले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

बिहीबार उनीहरूले सुन्दरीजल लगेर सुरुमा रामदुलारीलाई डिलबाट खसालेका थिए ।

प्रहरीले दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार जुत्ता सिलाउने काम गर्ने रामविनय र मजदुरी गर्ने रामदुलारीबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध थियो ।

तर, रामदुलारीले दिनहुँ मदिरा खाने र अन्य पुरुषसँग पनि सम्बन्ध रहेको शंका गरी रामविनयले फुपाजु नाता पर्ने सन्तोषसँग मिलेर हत्याको योजना बनाएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएकी उनलाई दुवै जनाले पालैपालो ढुंगाले टाउकोमा हिर्काएर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । मृतक युवतीको परिवार हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।