Swornakshar Logo

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय ५ लाख जरिवाना

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बुधबार ८ वर्ष कैद सजाय तोकेको हो ।

१३ पुसमा जिल्ला काठमाडौंका न्यायाधीश शिशिरराज ढकालकै इजलासले लामिछानेलाई बलात्कारको कसुरमा दोषी ठहर गरेको थियो । सोही कसुरमा लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको हो । जिल्ला अदालतले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।

आज सजाय निर्धारणका लागि आजको पेसी तोकिएको थियो ।

यो मुद्दामा पीडित किशोरीको उमेर विवाद निकै उल्झिएको थियो । पीडित पक्षले किशोरी नाबालिका रहेको भनेर जाहेरी दिएका थिए । वादी पक्षले पनि उनी नाबालिका नै रहेको दावी गर्दै आएको थियो । तर, लामिछानेका अधिवक्ताहरूले पनि किशोरी बालिग रहेको भन्दै दाबी गरेका थिए ।

जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै बारदात हुँदाको दिन किशोरीको उमेर १८ वर्ष पूरा भएको फैसला सुनाएको थियो । सोहीअनुसार लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ (ङ) को कसुरमा दोषी ठहर गरेको हो ।

‘ परिवर्तित नाम गौशाला २६–६–१–२०७९÷८० को जन्ममिति २०६१÷३÷१८ मा भएको देखि वारदात हुँदाको दिन निजको उमेर १८ वर्ष पूगिसकेको देखियो,ु अदालतले फैसलामा भनेको थियो । सँगै किशोरी १८ वर्ष पूरा भए पनि उनको नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाइ करणी भएको देखिएको र सहमतिको करणी भन्ने नदेखिएको अदालतले जनाएको थियो ।

के हो मुद्दा ?

लामिछानेविरुद्ध २०७९ भदौमा बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा लामिछाने विदेशमा थिए । त्यसपछि नेपाल फर्किएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० असोज २०७९ मा पक्राउ गरेको थियो ।

यो मुद्दाका क्रममा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले १८ कात्तिक २०७९ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले २९ पुस २०७९ मा उनलाई सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेश सर्वोच्चले समेत सदर गरेपछि लामिछानेले थुनाबाहिर रहेर मुद्दा लडेका थिए ।

लामिछानेमाथि एक नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । ५ भदौमा लामिछानेले उनलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेको र राति काठमाडौंको एक होटलमा राखेर बलात्कार गरेको उजुरी परेको थियो ।

यो अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजायको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।