Swornakshar Logo

जब सँगै पढेका साथी अभियुक्त र न्यायाधीशका रुपमा अदालतमा भेटिए

काठमाडाैं । जीवन सधै एक नासले चल्दैन । सोचेको पुग्दैन । भोगेको जिवनका धेरै उतारचढाउ हुन्छ । हामी जीवनमा धेरै मानिसहरुसँग भेटिन्छौ । अनि छुट्टिन्छौं पनि । जीवनको कुनै मोडमा भेटिएका अर्को मोडमा पुग्दा छुटी सकेका हुन्छन् । केही मानिससँग सधैंजसो सम्पर्क भैरहन्छ भने कतिपयको साथ केवल बाल्यकालसम्म मात्रै सीमित हुन्छ । तथापि मस्तिष्कमा बाल्यकालका ती साथीहरुको याद भने रहिरहेको हुन्छ ।

सोसल मिडिया तथा इन्टरनेट बिना नै हुर्किएको पुस्ताका मानिसहरुका लागि बाल्यकालका यादहरु झनै जीवन्त हुन्छन् ।

तपाईंका पनि स्कुलमा कैयन् यस्ता साथीहरु थिए होलान् जोसँग तपाईंले बाल्यकालको निकै अनुपम समय बिताउनुभयो । तर ती धेरै साथीहरुसँग अहिले तपाईंको सम्पर्क नै छैन होला ।

यदि बाल्यकालका ती साथीहरुसँग २०, ३० वर्षपछि एक्कासी भेट भयो भने कस्तो अनुभूति गर्नुहोला रु सायद कहिलेकाहीँ त राम्रोसँग पहिचान गर्न पनि गाह्रो पर्नसक्छ ।

अझ कुनै कार्यस्थलमा फरक भूमिकामा बाल्यकालका साथीहरुबीच भेट भयो भने त झनै अनौठो परिस्थितिको सिर्जना हुनसक्छ । अमेरिकाको फ्लोरिडामा एउटा यस्तै घटना भएको भयो ।

यस कहानीका दुईजना पात्र छन्, आर्थर बुथ र माइन्डी ग्लेजर । अन्य किशोर किशोरीहरुजस्त आर्थरको सपना पनि एउटा सफल करिअर बनाउनु थियो । उनी गणित र विज्ञानमा अब्बल थिए । परिवार तथा साथीहरुसँग आफू ठूलो भएर न्युरोसर्जन बन्ने सपना बताइरहन्थे ।

उनी अमेरिकाको मियामी बीच स्थित जुन नटिलस माध्यामिक विद्यालयमा पढ्थे त्यही स्कुलमा माइन्डी ग्लेजर पनि अध्ययनरत थिइन् । माइन्डीका पनि केही सपना थिए । पहिले त उनी पशु चिकित्सक बन्न चाहन्थिन् । तर पछि वकिल बन्ने चाहना पलाएसँगै कानून पढिन् र अब्बल वकिल बनिन् ।

दुवै जनाले अफ्नो करिअरका लागि जीवनमा दुई फरकफरक बाटो रोजे । र, दशकौं पछि उनीहरुको पुनः भेट भयो ।

माइन्डीले आर्थरलाई देख्ने बित्तिकै चिनिहालिन् । उनले भनिन्, ‘तिमी त उही व्यक्ति हौ जोसँग म फुटबल खेल्थें । तर तिमी यहाँ कसरी ?

वास्तवमा उनीहरुको त्यो भेट अदालतको इजलास कक्षमा भएको थियो । त्यहाँ माइन्डी न्यायाधीशको भूमिकामा थिइन् भने उनको अगाडि अभियुक्तको रुपमा आर्थर उभिएका थिए । अदालतको त्यो भिडियो दृश्य साँच्चिकै भावुकताले भरिएको थियो ।

आर्थरलाई जुवा तथा लागुऔषधको लत थियो । उनले उनी लुटपाटका घटना पनि संलग्न भएका थिए र प्रहरीबाट भाग्ने गरेका थिए ।

सुनुवाइ सुरु हुँदा उनले यस्तो व्यवहार देखाइरहेका थिए कि मानौं उनलाई आफूले गरेका कर्मप्रति कुनै पछुतो छैन । तर जब न्यायाधीश माइन्डीले उनीसँग प्रश्न सोध्न थालिन् अवस्था बदलियो । के तिमी नटिलस माध्यामिक विद्यालयमा पढ्थ्यौ रु भनेर माइन्डीले सोधेसँगै आर्थर डाँको छाडेर रुन थाले । उनी निकै विक्षिप्त बने ।

४९ वर्षका आर्थरका अगाडि उनकी पूर्व सहपाठी माइन्डी थिइन् । उनीहरुले विद्यालय छाडेपछि पहिलोपटक भेट भएको थियो । आर्थरको आपराधिक इतिहास निकै लामो छ र आफ्नो प्रौढ उमेर आधा त उनले जेलमै बिताएका छन् । उनी लागुऔषध तथा सट्टेबाजीको लतका कारण अपराधको दुनियाँमा प्रवेश गरेका थिए । उनको उद्देश्य नै कम समयमा धेरै पैसा कमाउनु थियो । उनी १७ वर्षको उमेरदेखि नै अपराध कर्ममा लागेर जेल पर्दै छुट्दै गरेका थिए । जसका कारण उनले विद्यार्थीकालमा सोचेको करिअर बनाउन पाएनन् ।

सन् १९८० को दशकमा आर्थरले राम्रो अंकका साथ उत्तीर्ण गरेर नटिलस स्कुल छाडेका थिए । त्यसपछि उनी मियामी बीच हाइस्कुलमा भर्ना भए र ११ कक्षासम्म पढेका थिए । अनि त्यहाँबाट पढाइ छाडेर कुलमा लागे ।

१८ वर्षको उमेर हुँदा नै उनी ठूलो चोरीको आरोपमा जेल परिसकेका थिए । उनलाई कुलत तथा अपराधको खाडलबाट निकाल्नका लागि परिवारजनले धेरै प्रयास गरे, तर सकेनन् ।

आर्थर चोरी तथा जेलबाट भागेको आरोपमा ४३ हजार डलर जरिवानाको सजायसहित जेलमा थिए । त्यो फैसला माइन्डीले नै गरेकी थिइन् । त्यसअघि उनी अर्को अपराधमा ७ महिना जेल बसेर निस्किएका थिए ।

सन् १९८८ मा २२ वर्षको उमेरमै चोरी डकैटीको अभियोगमा उनलाई २० वर्षको सजाय भएको थियो । तर १० वर्ष जेल सजाय काटेपछि उनी बाहिर निस्किए ।

अर्कोतर्फ माइन्डीले मियामी विश्वविद्यालयमा बिए र सेन्ट थोमस विश्वविद्यालयको स्कुल अफ ल बाट कानूनको अध्ययन गरिन् र सन् १९९१ मा कर कानूनमा स्नातक उपाधि हासिल गरिन् । त्यसपछि उनले वकालत सुरु गरिन् । सन् २००० मा माइन्डी न्यायाधीश बन्न सफल भइन् ।

यता जेल पर्ने तथा भाग्ने गर्दै सन् २००० मा पुनः पक्राउ परेका आर्थर सन् २०१५ सम्म जेलमै थिए । उनीहरुबीच सन् २०१५ मै अदालतमा भेट भएको थियो, न्यायाधीश र अभियुक्तको रुपमा ।

इजलास कक्षमा माइन्डीले आफ्नो पूर्व सहपाठीलाई खुंखार अभियुक्तको रुपमा आफू अगाडि पाएपछि निकै दुस्खी मात्र भइनन् यस्ता धेरै कुरा गरिन् जसका कारण आर्थरले आफ्नो जीवनका धेरै वर्षहरु बर्बाद गरेको महसुस गरे । स्कुले जीवनमा आफू मेधावी विद्यार्थी रहेको लगायतका प्रसंशा माइन्डीले गर्न थालेपछि आर्थर धुरुधुरु रुन थालेका थिए ।

आफ्नै सहपाठीलाई न्यायाधीशको रुपमा पाएको १० महिनापछि उनी कानून बमोजिम जेलमुक्त भए । त्यतिबेलासम्म आर्थर निकै परिवर्तन भैसकेका थिए ।

उनको मनबाट चोरी, डकैती, लागुऔषध जस्ता अपराधको भावना हटिसकेको थियो । जेलमुक्त भएपछि उनले भनेका थिए(उनी मेरो लागि एक प्रेरणा र प्रोत्साहन हुन् । माइन्डी अविश्वसनीय छिन् । उनले अब आफू कहिल्यै अपराध कर्ममा नलाग्ने बाचा माइन्डीसँग गरे ।

परिवर्तन भएका आर्थरले किताब अध्ययन गर्न थालेका थिए र उनमा व्यवसाय गर्ने इच्छा पलाएको थियो । उनले आफ्नो जीवन पुनः सुरु गर्ने निधो गरे ।

अदालतको भिडियो सार्वजनिक भएको र आर्थर जेलमुक्त भएको ८ वर्षभन्दा धेरै समय भैसकेको छ । अहिले आर्थरको जीवनले युटर्न लिइसकेको छ । उनी एक औषधि कम्पनीमा व्यवस्थापक छन् ।