Swornakshar Logo

जोनाथनलाई शुक्रकिट दानमा प्रतिबन्ध, जो बनेका छन् ६०० बच्चाका बुवा

काठमाडौं । नेदरल्याण्ड्सको अदालतले एक फैसला गरेर त्यहाँको नागरिक जोनाथलनलाई शुक्रकिट दानमा प्रतिबन्ध लगाएको छ । शुक्रबार अदालतले उक्त अनौठो फैसला सुनाएको हो । अदालतले ती शुक्रकिटदाता विरुद्ध आदेश जारी गर्दै उनलाई अब थप बच्चाको बुवा बन्नमा रोक लगाएको छ ।

४१ वर्षका जोनाथन मिजर नामका ती शुक्रकिटदाता पुरुष हालसम्म उनी ५ सयदेखि ६ सय जना बच्चाको बुवा बनिसकेको अनुमान गरिएको छ ।

अब अदालतको आदेशपछि जोनाथनले थप शुक्रकिट दान गर्न सक्नेछैनन् । यदि अदालतको आदेश उल्लंघन गरेमा उनीमाथि एक लाख १० हजार डलर जरिवाना हुनेछ ।

जोनाथनको शुक्रकिटबाट विश्वभर गरी करीब ६ सय बच्चा जन्मिसकेको अनुमान छ । उनी ती सबै बच्चाका जैविक पिता हुन् । अब अदालतले उनीमाथि थप बच्चाको बुवा बन्नबाट रोक लगाएको छ ।

मिजरले दान गरेको शुक्रकिटबाट पैदा भएका बच्चाहरुको गोपनीयताको अधिकार हनन् भैरहेको दाबी गरिएको थियो । किनकि यदि मिजरको शुक्रकिटबाट जन्मिएका केटा र केटीहरुको बीचमा एक आपसमा रोमान्टिक सम्बन्ध कायम भएमा त्यो हाडनाता करणीको श्रेणीमा पर्नेछ

अब थप वीर्यदान गर्न त सक्ने छैनन् नै पहिले दान गरेको वीर्य पनि नष्ट गर्नुपर्नेछ । आफूले पहिले दान गरेको शुक्रकिट यदि कुनै शुक्रकिट बैंक वा क्लिनिकहरूमा मौज्दात रहेमा त्यसलाई नष्ट गर्नका लागि लिखित रुपमा निवेदन दिन पनि अदालतले जोनाथनको नाममा आदेश दिएको छ । तथापि यदि उनको शुक्रकिटलाई कुनै दम्पतीले पहिले नै बुकिंग गरिसकेको भएचाहिं त्यो लैजान पाउनेछन् ।

जोनाथन मिजरको जिवन तथा शुक्रकिट दानको सिलसिला सामान्य रुपमै चलिरहेको थियो । तर जब एउटा नागरिक संस्थाले उनीविरुद्ध अदालतमा मुद्दा हाल्यो तब परिस्थिति बदलियो ।

अदालतमा दायर गरिएको मुद्दामा मिजरले दान गरेको शुक्रकिटबाट पैदा भएका बच्चाहरुको गोपनीयताको अधिकार हनन् भैरहेको दाबी गरिएको थियो । किनकि यदि मिजरको शुक्रकिटबाट जन्मिएका केटा र केटीहरुको बीचमा एक आपसमा रोमान्टिक सम्बन्ध कायम भएमा त्यो हाडनाता करणीको श्रेणीमा पर्नेछ । त्यस्तो यौन सम्बन्ध तथा प्रजनन इनसेस्ट वा इनब्रिडिंगको प्रक्रिया हुनेछ, जुन पूरै मानवताका लागि नै खतरनाक हुने पनि अदालती निवेदनमा दाबी गरिएको थियो ।

मिजरको शुक्रकिट दानको समाचार सबैभन्दा पहिले सन् २०१७ मा सार्वजनिक भएको थियो । उनले त्यसबेला ठूलो परिमाणमा शुक्रकिट दान गर्दथे । त्यसपछि उनलाई नेदरल्याण्डका फर्टिलिटी क्लिनिकहरुमा शुक्रकिट दानका लागि कालोसूचीमा राखियो । किनकि उनी नेदरल्याण्ड्समा मात्रै १०० बच्चाको जैविक बुवा बनिसकेका थिए ।

नेदरल्याण्ड्समा कालोसूचीमा परेपछि उनले अन्य देशका क्लिनिकहरुमा शुक्रकिट दान गर्न सुरु गरे । त्यसपछि उनले डेनिस शुक्रकिट बैंक क्रायोसलाई छाने । क्रायोसका विभिन्न शाखाहरु विश्वका विभिन्न देशमा रहेका छन् । उनले सबैजसो शाखाहरुमा शुक्रकिट दान गर्न भ्याए । जसका कारण उनी विश्वका कैयन् देशका बच्चाहरुको जैविक बुवा बन्न सफल भए ।

जोनाथनले शुक्रकिट बिक्री गर्नका लागि धेरैपटक आफ्नो नामसमेत परिवर्तन गरेका थिए । उनले फर्टिलिटी सेन्टरमा थोकमा शुक्रकिट दान गर्ने मात्र नभइ आफ्नो शुक्रकिटको खुद्रा व्यापार पनि गर्ने गरेको बताइएको छ ।