Swornakshar Logo

बागमती गाउँपालिकाले बागमती गोल्डकप फुटबल आयोजना २४ बाट सुरु

हेटौंडा । मकवानपुर पाँचौं वाग्मती गोल्डकप फुटबल प्रतियोगिता २०७९ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन दिन आयोजक बागमति गाउँपालिका खेलकुद विकास समितिले ए डिभिजन लिगको टोली जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सात ए डिभिजन लिग, एक विदेशी र दुई स्थानीय टोली गरी १० टोलीको सहभागिता रहने प्रतियोगिता उपसमितिका सह–संयोजक मनोज बलले जानकारी दिए ।  प्रतियोगिता पुस २४ गतेबाट सुरु हुनेछ ।

प्रतियोगितामा आयोजक बागमती गाउँपालिका, मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब र अमेरिकी टिम भुट्निज युथ स्पोर्ट्सको सहभागी रहनेछ । साविक विजेता थ्री स्टार क्लब भने पाँचौं संस्करणको प्रतियोगितामा सहभागी नहुने भएको छ । चौथो संस्करणमा विदेशी टिम क्यामरुनलाई हराउँदै थ्रीस्टारले उपाधि जितेको थियो ।

प्रतियोगिताको विजेताले आठ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै खेलकुद क्षेत्रमा उदाहरणीय काम गर्ने खेल पत्रकारलाई पनि १५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा आयोजकले गरेको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले व्यक्तिगत विधाका लागि पाँच हजार नगद सहित आकर्षक पुरस्कार प्रदान गर्नेछ । साथै छ विधामा उत्कृष्ट खेलाडी जनही दश हजारका दरले पुरस्कृत हुनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ७१ लाख खर्च लाग्ने आयोजकले जानकारी दिएको छ ।