Bagmati Samachar Logo

संसदीय समितिले निर्देशनः आवश्यक परे घरघरमै गएर कोरोना खोप लगाउनु

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक परे घरघरमै गएर नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन भनेको छ ।

मंगलबार बसेको समिति बैठकपछि निर्णय सुनाउँदै समिति सभापति जयपुरी घर्तीले भनेकी छन्, ‘कोरोना खोप सबैलाई लगाउनुपर्छ । आवश्यक परे नागरिकहरुलाई घरघरमै गएर लगाउनुपर्छ ।’

अपाङ्गता, असाहाय, वृद्धवृद्धा र गर्भवतीलाई भने अनिवार्य रुपमै घरघरमै गएर कोरोना खोप लगाइदिने व्यवस्थाका लागि सभापति घर्तीले निर्देशन जारी गरेकी छन् ।

जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले गाउँ गाउँमा टोली खटाएर कोरोना खोप लगाउने कार्य जारी रहेको बताएका थिए । तर, घर घर जान सम्भव नरहेको भन्दै तोकिएको केन्द्रसम्म पुग्नुपर्ने बताएका थिए ।

अपाङ्गता, असाहाय, वृद्धवृद्धा र गर्भवती तोकिएको केन्द्रमा पुग्न नसक्ने भन्दै समिति सभापति घर्तीले घरमै पुग्न भनेकी हुन् ।

नेपाल प्रवेश गर्ने नाकाहरुम कडाइका साथ चेकजाँच नहुँदा नेपालमा कोरोनाको प्रकोप न्युनीकरणमा असहजता भएको भन्दै समितिले ख्याल गर्न सरकारलाई भनेको छ ।

स्वास्थ्यकर्मीलाई जोखीम भत्ता दिनू

यस्तै, शिक्षा तथा स्वास्थ्य समितिले कोरोना महामारी न्यूनीकरणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखीम भत्ता उपलब्ध गराउन निर्देश गरेको छ ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले जोखीम भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयले बजेट नदिएको बताएका थिए । यो विषयमा अर्थमन्त्रीसँग समेत छलफल गर्ने समितिसभापति जयपुरी घर्तीले बताएकी छन ।

यस्तै, समितिले कोरोना बिमा गरेका बिमितलाई उनीहरुको पैसा उपलब्ध गराउन, आइसियू लगायतका आवश्यक पूर्वतयारी गर्न, तीन तहका बीचमा समन्वयमा काम गर्न र कतिले खोप लगाए, क कसले लगाए भन्ने रेकर्ड राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।