Swornakshar Logo

मकवानपुरका १० स्थानीय तह मध्य ९ को आ.व २००७७\७८को अनुमानित बजेट ६,३८,३१,०७,३९० बागमती गाउँपालिकाले बजेट ल्याउन सकेन

हेटौंडा ।११ असार । मकवानपुरको ९ वटै स्थानीय तहले बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बजेटमा धेरैजसो स्थानीय तहले कृषि र स्वास्थ्य क्षेत्रमा बढी जोड दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८ करोड

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७र०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बजेटको स्रोतमा आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाँडफाँटबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार र संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख तथा चालु आर्थिक वर्षको बजेटबाट बचत २६ करोड १३ लाख ११ हजार रुपैयाँ रहेको छ ।

थाहा नगरपालिकाको बजेट८० करोड

जिल्लाको उत्तरी क्षेत्रको थाहा नगरपालिकाले ८० करोड ५६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । मेयर लवशेर विष्टका अनुसार बजेटमा कृषि उत्पादन तथा पशुपालन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनालाई महत्व दिइएको बताएका छन् ।

थाहानगरमा संघीय सरकारको प्रधानमन्त्री कृषि जोन परियोजना पनि कार्यान्वयनमा रहेको छ ।

बकैया गाउँ पालिकाको बजेट ६५ करोड

बकैया गाउँपालिकाले ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको अनुमानित बजेट पेश गरेको छ । ‘समृद्ध बकैया निर्माणको मूल आधारः स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ ।

त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष सरला बोलखेले जानकारी दिएकी छिन् ।

इन्द्रसरोवर गाउँपालिकाको बजेट ५० करोड

इन्द्र सरोवर गाउँपालिकाले ५० करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिएका छन् ।

विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गरिएको अध्यक्ष लामाले बताए ।

अर्को गाउँसभाको बैठकबाट बजेट पारित हुने गाउँपालिकाले जनाएको छ ।

मनहरी गाउँपालिकाको बजेट ७६ करोड

मनहरी गाउँपालिकाले ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान १२ करोड ५५ लाख, बागमती प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख ४ हजार, नेपाल सरकार सशर्त अनुदान १८ करोड ४४ लाख, बागमती प्रदेश सशर्त अनुदान २ करोड ५४ लाख ५५ हजार प्राप्त हुने जानकारि दिएका छन् ।

राजश्व बाँडफाँटबाट १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने गाउँपालिकाको अनुमान छ ।

मकवानपुर गढी गाउँपालिकाका बजेट ५९ करोड

मकवानपुरगढी गाउँपालिकाले ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । आयतर्फ संघीय सरकार र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १० करोड ९० लाख ५८ हजार, राजस्व बाँडफाँटबाट १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान गरेको छ ।

त्यस्तै आन्तरिक आय २ करोड ९१ लाख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार सशर्त अनुदान २२ करोड ५ लाख ६० हजार, समपूरक अनुदान ५ करोड, विशेष अनुदान २ करोड ७६ लाख प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ ।

बजेटमा पुँजीगततर्फ ३२ करोड ६९ लाख ४७ हजार अर्थात ५४ दशमलव ७१ प्रतिशत र चालुतर्फ २७ करोड ५ लाख ६० हजार अर्थात ४५ दशमवल २९ प्रतिशत विनियोजन गरिएको छ ।
राक्सिराङ गाउँपालिकाको बजेट५९ करोड

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाले ५१ करोड १५ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपाध्यक्ष निर्मला हिमडुङले आन्तरिक आम्दानी ३ करोड ३२ लाख, चालु आर्थिक वर्षको बचत ३ करोड, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानसमेत समेटेर बजेट सार्वजनिक गरेको बताएकी छिन् ।

चालु खर्चतर्फ २९ करोड ९२ लाख र पुजीँगत खर्चतर्फ २१ करोड ३८ लाख खर्च हुने अनुमान गरेको छ ।

भीमफेदी गाउँपालिकाको बजेट ५६ करोड

भीमफेदी गाउँपालिकाले ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले प्रस्तुत गरेका उक्त बजेटमा महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्बर’ भन्ने मूल नाराका साथ आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ ।

आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, सुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, वन तथा वातावरणमा १ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताएका छन् ।

कैलाशमा गाउँपालिकाको बजेट ४३ करोड

कैलाश गाउँपालिकाले ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपैयाँको बजेट ल्याएको अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

बाग्मती गाउँपालिकाले बजेट ल्याउन सकेन

बाग्मती गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । गाउँपालिकाका नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहभागिता नजनाउने भएपछि गाउँपालिकाले गाउँ सभा राख्न नसकेको जनाएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेकपाका हुन् ।