दाङ । २ असार । दाङको घोराहीका एक जोडीले क्वारेन्टिनबाट नजिकैको वरपिपलको रूखमुनि विवाह गरेका छन्।
घोराही उपमहानगरपालिका १८का २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहागरपालिका ७ की २१ वर्षीया सीता चौधरीका बीच आइतबार क्वारेन्टिनबाट निस्किएलगत्तै विवाह भएको हो।
परिवारको सल्लाहमा उनीहरूको विवाहको लागि घोराही १८का वडाध्यक्ष भरत अर्यालले पुरेत बनेका थिय।
नवजोडीका अनुसार २ वर्षअघि उनिहरुको फेसबुकबाट चिनजान भएको थियो।
कृष्ण नयाँदिल्लीको एक होटेलमा सेफको काम गर्थे। सीता तुलसीपुरस्थित गोरखा माविका कक्षा १२ मा पढ्थिन्। चिनजान भएको केही समयमै उनीहरूको माया बस्यो। त्यही मायालाई विवाहमा बदल्न ९ महिनाअघि उनीहरू भागेर भारत गए।
कृष्णले भने ९ महिना पहिला भागेर भारत गएका थियौ,’ जेठ १० गते फर्केर आएपछि क्वारेन्टिनमा बस्नु पर्यो। पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन विवाह गरेका हौं।’
घर परिवारले आफ्नो अन्तरजातीय विवाहलाई सहजै स्वीकार गरेको र अभिभावककै सल्लाहमा रिपोर्ट नेगेटिभ आएकै दिन समुदायलाई साक्षी राखेर औपचारिक रूपमा विवाह गरेको कृष्णले बताए।

वडाध्यक्ष अर्यालले बेहुलाका अभिभावकले छोरा बुहारी ९ महिनापछि घर फर्किएको हुँदा धार्मिक संस्कारअनुसार जेठभित्रै विवाह गर्नु शुभ हुने भनेपछि आफूले पुरेतको काम गरेर जेठ ३२ गते विवाह गरिदिएको बताए।
असारमा छोरा बुहारी विदेशवाट फर्केको दशौं महिना पुग्छ र त्यो धार्मिक संस्कार अनुसार शुभ मानिदैन भन्ने अभिभावकको भनाइ रह्यो,’ वडाध्यक्ष अर्यालले भने, त्यही भए रिपोर्ट नेगेटिभ आएकै दिन अबेर साँझ क्वारेन्टिननजिकै वरपिपलको रूखमुनि बेहुलाका अभिभावक र केही सीमित आफन्तको उपस्थितिमा मैले विवाह गरिदिएको हुँ।’
उनले वैवाहिक जीवनको शुभकामनाका साथै परिवारमा मिलेर बस्न तथा अभिभावकलाई सम्मानपूर्वक राख्न सल्लाह दिएको बताए।
त्यस्तै नवविवाहित जोडीलाई थप १५ दिन होम क्वारेन्टिनमै बस्न आग्रह गरेको समेत उनले बताए।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…