कोरोना परीक्षण टेकु प्रयोगशालाले थेग्नै मुस्किल

काठमाडौं, २७ जेठ । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकुमा बिहानदेखि राति १२ बजेसम्म कोरोना भाइरस (कोभिड १९
) को परीक्षण भइरहेको छ । तर, प्रयोगशालामा आएको पूरै स्याम्पल परीक्षण हुन सकेको छैन ।
अहिले दैनिक ३ देखि ४ हजारसम्म स्याम्पल होल्ड हुने गरेको छ । आरएनए छुट्याउने एक्सट्रयाक्सन मेसिन नहुँदा स्याम्पल होल्ड भएको हो ।
प्रयोगशालाका कर्मचारीले भने, रातिसम्म काम गर्छौँ तर पनि परीक्षण सकिँदैन’, भाइरस छुट्याउने एक्सट्रयाक्सन मेसिन छैन । मान्छेले नै निकाल्नु पर्छ । मेसिन हुने हो भने छिटो छरितो परीक्षण गर्न सकिन्छ ।’
टेकु प्रयोगशालामा २ वटा एक्सट्रयाक्सन मेसिन छन् । तर, यसले एक पटकमा १२ वटा स्याम्पलको मात्र भाइरस छुट्याउन सक्छ ।
अहिले भएको मेसिन सानो छ । एक पटकमा १२ वटा छुट्याउँछ’, उनले भने, ‘एकै पटकमा ४८ वटा वा ९६ वटा भाइरस छुट्याउने मेसिन भयो भने परीक्षण धेरै हुन्छ । होल्ड हुने समस्या पनि हुँदैन ।’
भाइरस निकालेपछि मात्र पीसीआर मेसिनबाट परीक्षण हुन्छ । अहिले राष्ट्रिय प्रयोगशालामा ५ वटा पीसीआर मेसिन छन् ।
पीसीआरबाट १ हजारदेखि १२ सयको हाराहारीमा परीक्षण भइरहेको छ । काठमाडौंबाहिर एउटा ल्याबबाट २ सयको हाराहारीमा परीक्षण भइरहेको छ । काठमाडौंसहित देशभर २१ ठाउँबाट कोरोनाको परीक्षण हुन्छ । तर, सबैभन्दा धेरै स्याम्पल टेकुको प्रयोगशालामा नै आइपुग्छ ।
सरकारले आरएनए छुट्याउने एक्सट्रयाक्सन मेसिन खरिद प्रक्रिया अगाडि बढाएको बताएको छ । प्रत्येक प्रदेशमा एउटा मेसिन राखेर परीक्षणको दायरा बढाउने सरकारले बताएको छ । तर, कहिले आउने हो, निश्चित छैन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहले मेसिन ल्याउने विषयमा छलफल भइरहेको बताए ।
हामी छलफल गरिरहेका छौँ । समयअनुसारको छ वा छैन, त्यो पनि हेर्नुपर्छ । योभन्दा राम्रो अर्को के हुन सक्छ, त्यसमा पनि छलफल भइरहेको छ’, उनले भने ।
एक्सट्रयाक्सन मेसिन हुने हो भने अहिलेभन्दा दोब्बर संख्यामा परीक्षण गर्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
लक्षण नभएकाको परीक्षण नहुने
राष्ट्रिय प्रयोगशालाले लक्षण नभएकाको स्याम्पल आए परीक्षण नगर्ने भएको छ । मन्त्रालयले लक्षण नभएकाको परीक्षण नगर्न निर्देशिका पनि बनाएको छ । त्यसैका आधारमा प्रयोगशालाले लक्षण नभएकाको परीक्षण नगर्ने भएको हो ।
सुरूमा हामीले २४ घण्टामा नै रिपोर्ट दिएका थियौँ । बिहान आएकाको रिपोर्ट साँझमा पनि दिएका थियौँ । अब सम्भव छैन’, प्रयोगशालाकी निर्देशक डा। रुना झाले भनिन्, ‘हिजोसम्म जति आयो, सबै लिएका छौँ । अब लक्षण नभएकाको परीक्षण गर्दैनौँ ।’
पछिल्ला दिनमा परीक्षणका लागि सबैभन्दा धेरै २ नम्बर प्रदेशबाट स्याम्पल आएको उनले बताइन् ।
‘प्रदेशमा धेरै स्याम्पल कलेक्सन भएको छ’, उनले भनिन्, ‘हामी इल्यास्टिक होइन । तर, तन्किएजति तन्काएर परीक्षण गरिरहेका छौँ । अब निर्देशिकाअनुसार परीक्षण गर्ने हो ।’
क्वारेन्टाइनबाट धेरै स्याम्पल संकलन भएको छ । क्वारेन्टाइनको व्यवस्थापन नहुँदा ल्याबमा लोड परेको हो ।
ल्याबको क्षमता ५ हजार छ । दिनमा १०|१० हजार नमुना संकलन भएपछि परीक्षण गर्न सम्भव छैन,’ निर्देशक झाले भनिन्, क्वारेन्टाइनको व्यवस्थापन हुनुपर्छ ।’
स्वास्थ्यले एउटा निर्देशिका बनाउने र कस्तोको स्याम्पल लिने, कस्तोको नलिने भन्ने नन मेडिकल मान्छेले निर्णय गर्दा पनि समस्या भएको स्वास्थकर्मीको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: