Bagmati Samachar Logo

अन्त्येष्टिपछि कोरोना संक्रमणको पुष्टि: मलामी खोज्न प्रहरीलाई सास्ती

कैलाली । २४ जेठ । डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो ।

उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझायो । आफन्तलाई पर्खिएको परिवारले शनिबार मोहना घाटमा अन्त्येष्टि गरे । त्यसको केही घण्टामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

धनगढी–४ का वडाध्यक्ष दीपक थापा भन्छन्, ‘बिहान १० बजेतिर अन्त्येष्टि गरियो । अन्त्येष्टि गरेको केही घन्टापछि कोरोना संक्रमणको पुुष्टि भयो ।’

संक्रमित महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०÷२२ जना सहभागी भएका थिए ।

प्रहरीले उनीहरूको खोजी थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापा भन्छन्, ‘केही मलामी सम्पर्कमा आएका छन् भने, केहीको खोजी भइरहेको जनकारी दिय ।’

परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको पनि उनले जानकारी दिएका छन् ।