भीआईपी जुवाडे समात्दा प्रहरीलाई तनाव

काठमाडौं । २० जेठ । सबै जना उच्च व्यापारिक घरानाका व्यक्ति, कमलादीस्थित गगौंर बुटिक होटलमा चलाइएको भीआईपी जुवा खालमा छापा मार्दा पक्राउ परेका छन । पक्राउ पर्दा बरामद भएको रकम भने २ लाख ७७ हजार रुपैयाँ मात्रै रहेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गबाट छापा मार्न खटिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहाल नेतृत्वको टोली अहिले यही रकममाथि केन्द्रित भएर अनुसन्धानमा गरिरहेका छन् ।
घटनास्थलबाट १ सय ७९ वटा सिक्का बरामद भएको छ । यो क्यासिनोमा खेलिने जुवाको शैली हो । जसलाई ‘डिकोड’ गरेपछि जुवामा कारोबार भएको वास्तबिक रकमबारे जानकारी हुनेछ ।
सोमबार साँझ भीआईपी जुवाडेलाई समात्नेवित्तिकै चासो राख्दै विभिन्न व्यक्तिले छुटाउन प्रहरीलाई दबाब दिएको स्रोत बताउँछ । पक्राउ परेपछि कतिपयले आफूलाई मुटुको रोगी बताएका छन् भने एक जनाले क्यान्सरको शल्यक्रिया गरेको जनाएका छन् ।
स्रोत भन्छ, ‘पक्राउ परेका अधिकांश ६०, ६५ वर्षका छन्, केही न केही रोग नहुने कुरै भएन । अहिलेसम्म उहाँहरु हिरासतमै हुनुहुन्छ ।’ तर, यी भीआईपी जुवाडेमध्ये केहीले अस्पतालमा बसेर हिरासत छल्ने प्रयास गरिरहेको स्रोत बताउँछ ।
उच्च व्यापारिक घराना र शक्ति केन्द्रका निकट व्यक्तिले हिरासत छल्न विरामीको नाटक गरेर अस्पताल बस्ने गरेका छन् ।
लकडाउनका बेला भेला भएर रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइले बुटिक होटललाई नै क्यासिनो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धान संलग्न एक अधिकृत भन्छन्, ‘निश्चित रकम तोकेर काउन्टरबाट सिक्का लिने गरिन्छ, पछि जम्मा भएको सिक्का बराबरको रकम साट्ने गरिन्छ ।’ यदि प्रहरीले छापा हानीहाले थोरै रकम मात्र बरामद होस् भनेर यो शैली अपनाइएको हुन सक्ने अधिकृतहरु बताउँछन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भने पक्राउ परेका व्यक्तिबारे चासो राख्नु सामान्य कुरा भएको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘अब म्याद थप गरेर जुवा ऐनअनुसार थप कारबाही प्रक्रिया अघि बढ्छ ।’
तीन महिना कैद हुनसक्ने
गत वर्ष १ भदौमा मुलुकी अपराध संहिता जारी हुनुअघि जुवा खेल्ने व्यक्ति २ सय रुपैयाँ जरिवाना तिरेर छुट्ने गरेका थिए । तर, संहिताले पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भनिएको छ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।
जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्ने सरह नै कारबाहीको व्यवस्था गरिएको छ ।
कोरोना महामारीका कारण अहिले एक वर्षसम्म कैद सजाय हुने घटनामा हिरासत बाहिरै राखेर पनि कारबाही प्रक्रिया अघि बढाउन मिल्ने गरी व्यवस्था गरिएको छ । त्यसैले ८ जना भीआईपी जुवाडेले धेरै दिन हिरासत भने बस्नु नपर्ने अधिकृतहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्: