Bagmati Samachar Logo

बाँके दुर्घटनाका १२ मृतक र घाइते सबैको स्वाब संकलन

हेटौडा ।१९ जेठ । बाँकेको जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित जंगलमा दुर्घटना हुँदा घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने भएको हो ।
‘अस्पतालले दुर्घटनामा मृत्यु भएका सबै र घाइते सबैको स्वाब संकलन गरेर सकिसकेको छ,’ थापाले भने, ‘उनीहरुको रिपोर्टका आधारमा उद्धारमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन हुनेछ ।’ उनले सबैको पिसिआर विधिवाट चेकजाँच हुने जानकारी दिए ।

बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीपनि खटिएको जानकारी दिए ।

‘उद्धारमा खटिएका सुरक्षाकर्मीलाई छुट्याउने क्रम सुरु गरि उनीहरु सबैको कोरोना परीक्षण गरिनेछ,’ एसपी वलीले भने, ‘उद्धारमा प्रयोग गरिएका प्रहरीका गाडीमा पनि स्यानीटाइजर प्रयोग गरिएको छ ।’

प्रहरीको गाडीमा समेत घाइतेको रगत रहेको, सुरक्षाकर्मीले घाइतेलाई अंगाले हालेर उद्दार गरेको हुँदा उद्धारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुने उनले बताए ।

‘पहिला घाइते र मृतकको स्बाब संकलन गरिएको छ,’ एसपी वलीले भने, ‘त्यो रिपोर्ट हेरेर उद्धारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुनेछ ।’