Bagmati Samachar Logo

रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइन्छः गृहमन्त्री थापा

काठमाडौं । १८ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।
आज गृह मन्त्रालयमा रुकुम पश्चिमको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघ–संस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिबद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे । उनले घटनाको सम्बन्धमा गृहमन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगि छानबिन सुरु गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे ।

उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्नेगरि काम गर्न सचेत गराईएको समेत जानकारी दिए । उनले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजि कार्य जारी रहेको बताए ।
सो घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को समेत छुट्टै टिम छानबिनका लागि पठाउनेकि भन्नेबारे छलफल भइरहेको प्रतिनिधि मण्डललाई जानकारी गराए । घटनाका सम्बन्धमा हिँजो बसेको क्याबिनेटमा समेत छलफल भएको जानकारी दिँदै जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पस्ट पारे ।
उनले जातिय उत्पीडनको अन्त्यका लागि आ(आफ्नो ठाउँबाट भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गरे ।