Bagmati Samachar Logo

कोरोनाकै कारण बाजुराका दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । १८ जेठ । कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो ।

बुढीगंगा नगरपालिका घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे ।

८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको ती बालिकाको मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । आइतबार दिउँसो रिपार्ट आउँदा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

योसहित हालसम्म जम्मा कोरोना परीक्षण गर्नेको संख्या ६९,५८२ जम्मा संक्रमितको संख्या १,५६७ निको भएर घर फर्कनेको संख्या २२० र कूल मृत्यु हुनेको संख्या ८ पुगेको छ ।