Bagmati Samachar Logo

यो बजेटले वर्तमान समस्या समाधान गर्दैनः बाबुराम भट्टराई

काठमाडौं । १५ जेठ । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आर्थिक वर्षको बजेट परम्परागतरूपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताएका छन् ।

बजेट भाषणपछि प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रूपमा ठिक रहेको उल्लेख गर्दै उनले कोरोना महामारीबाट न्यूनीकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताए । 

बजेट चालू आर्थिक वर्षको भन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने बताए । 

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएको भएपनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गरेका छन् ।

स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरू पुरानै प्रकृतिको भएको उनले बताए । कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाइएको र उक्त रकम फेरी दुरुपयोग हुने गरी ल्याइएको बताए । 

समग्रमा बजेट आश्वासनमुखी भए पनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको नेता कार्कीले बताए ।

कोरोना भाइरसबाट प्रभावित भएका क्षेत्रमा पनि राम्रोसँग, उत्साहित रुपमा काम गर्ने गरी कार्यक्रम बजेटमा समावेश नभएको उनले बताए ।