प्रचण्डको प्रतिक्रिया सन्तुलित र जनतालाई राहत दिने, नेपाल भन्छन्–अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने
काठमाडौं । १५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीको विषम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् ।
उनले बजेट सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय आएको बताए । बजेट सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उनको भनाइ छ । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरू त्यसैबाट जुट्ने उनको विश्वास छ ।
यो बजेटले जनताका सबै समुदाय, अझ त्यसमा पनि मुख्यतःनिम्न वर्गका जनतालाई राहत दिने जुन प्रयास गरेको छ, त्यो सराहनीय छ । अहिलेको परिस्थिति जटिल छँदै छ, तैपनि आन्तरिक र बाह्य ऋण सहयोग र राजश्वको जुन अनुमान गरिएको छ, त्यो वस्तुवादी नै छ,’ प्रचण्डले भने ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताए । उनले भने व्यापक रूपमा कोरोना फैलिरहेको वेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजगारीको समस्या कसरी सम्बोधन गर्ने र कृषि क्षेत्रलाई कसरी गर्ने भन्ने कुराहरू बजेटमा सम्बोधन भएको ।
‘बजेटले अहिलेको आवश्यकतालाई बोध गरेको छ । खासगरी कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको वेलामा कसरी रोगको सामना गर्ने, स्वास्थ्यको समस्यालाई कसरी सम्बोधन गर्ने, भोकको समस्या, रोजगारीको समस्या हल गर्ने, कृषि क्षेत्रलाई प्रोत्साहन दिने, आत्मनिभर्भर अर्थतन्त्रतर्फ लैजाने, सेवासँग सम्बन्धित व्यवसाय, उद्योगधन्दाहरू, ऋणमा परेका संकटमा परेकाहरूलाई के–कति मात्रामा सहुलियत र राहत दिन सकिन्छ, बवभिन्न वर्ग र तहका जनतालाई सामाजिक सुरक्षाको व्यवस्था, कुनमा करको दायरा बढाउने, घटाउने, कुनलाई प्रोत्साहन गर्नेजस्ता धेरै विषयलाई बजेटले समेटेको छ । त्यसैले यो राम्रो बजेट छ,’ नेता नेपालले भने ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पारेको असरलाई कम गर्ने र नागरिकको जीवन रक्षासँग केन्द्रित भएर बजेट आएको बताए । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा झन्डै २२ अर्ब बढी बजेट विनियोजन हुनुले स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: