Bagmati Samachar Logo

भेरी नदीमा हरायका तीन युवक खोज्न गोताखोर टोली परिचालन

काठमाडौं । १४ जेठ । रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भएका तीन जना युवकको खोजीमा सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोली परिचालित भएको छ ।

जाजरकोटस्थित सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट डीएसपीको कमाण्डमा ४ जनाको गोताखोर टोली र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको हो ।

शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटपिट बाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको थियो भने गाउँलेको आक्रमणबाट बच्न अन्य ६ जना भेरी नदीमा हामफालेका थिए ।

जसमध्ये तीन जनाको शव फेला परिसकेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।

यो पनि हेरौ:

रुकुम पश्चिममा शनिबार राती केटी भगाउन जाँदा भएको घटनापछि वेपत्ता रहेका जाजरकोटका तीन युवाको खोजी गर्न प्रहरीले गोताखोर माग गरेको छ।

जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जाजरकोटको भेरी नगरपालिका वडा न ११ का १८ बर्षीय लोकेन्द्र सुनार, १८ बर्षकै सञ्जु विक र १७ वर्षीय गोविन्द शाही सम्पर्क विहिन रहेको हुँदा उनीहरुको खोजी कार्यका लागि केन्द्रमा गोताखोर माग गरिएको जानकारी दिए।

‘केन्द्रमा पत्रचार गरी गोताखोर मागिएको छ, आश गरौं छिट्टै गोताखोर आएर वेपत्ताहरुको खोजी गर्ने कार्य सुरू हुने छ,’ डिएसपी केसीले भने।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं। ८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन ठूली भेरी नदीमा हाम फालेकामध्ये सोमबार बेलुकी जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ का १७ वर्षीय गणेश बुढा मगरको शव फेला परेको थियो।

घटना भएकै दिन शनिबार राति १० बजेतिर केटी लिन भनेर सोती गाउँ पुगेका २१ वर्षीय नवराज विकको र २० वर्षीय टीकाराम सुनारको शव आइतबार विहान सानी भेरी नदी किनारमा फेला परेको थियो।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी केसीले बेपत्ता युवाहरुको उद्धार र खोजी कार्यका लागि कर्णाली प्रदेशवाट ३० जना थप जनशक्ति आएको जानकारी दिए।

घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एकजना प्रहरी निरीक्षकको कमाण्डमा दुईजना आएको केसीले बताए।

थप जनशक्ति सोमबार बेलुका मात्रै आइपुगेको र त्यसले खोजी तथा उद्धारको कार्य विहानदेखि सुरु गरेको डिएसपी केसीले बताए।

वडाध्यक्ष सहित १२ जना प्रहरी नियन्त्रणमा

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले वडाअध्यक्ष मल्ल, केटी, केटीका बुवा बीरबहादुर, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई अनुसन्धानको लागि सोमवार नियन्त्रणमा लिएको बताए।

उनले घटनामा संलग्न भनिएका सोती गाउँका अरू मानिसहरुको समेत खोजी भइरहेको जानकारी दिए।

पीडित पक्षले वडाध्यक्ष मल्ल, उनका बाबु बीरबहादुरसहितका मानिसहरुले लखेटी लखेटी आफ्ना सन्तान हत्या गरेको जनाएका छन् ।

पीडित परिवारले जाजरकोट लगिएका शवको पोष्टमार्टम गर्नपनि दिएका छैनन्।