Bagmati Samachar Logo

धनगढी उपमहानगरपालिकाले कांग्रेस कार्यकर्ता खटाएर राना थारु भाषाको इतिहास लेख्दै,समाजले जनायो आपत्ति

काठमाडौं । १३ जेठ । धनगढी उपमहानगरपालिका मेयरले कांग्रेस कार्यकर्ता लगाएर राना थारुको भाषाको इतिहास लेखन कार्य सुरु गरेको छ ।
उप महानगरपालिकाले आर्थिक सहयोग गरेर पूर्वसांसद प्यारे लाल राना, जीवन राना, वार्ड न. ७ वडाअध्यक्ष सिताराम राना र भक्तराज रानाको टिम बनाइ रानाथारु समुदायसँग सम्बन्धित रानाथारु भाषा लेखनको काम भैरहेको राना थारु समाजका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
राना थारुहरुको बाहुल्यता रहेका जिल्ला कैलाली कंचनपुर हुन । पछिल्लो समयमा राना थारु समुदायलाई नेपालको आदिवासी समुदायमा सुचिकृत गर्न लामो संर्घष गरेको संस्था नेपाल रानाथारु समाजलाई नै वाइपास गरेर भाषा लेखन कार्य सुरु गरेकाले समाजले विरोध जनाएको छ ।
एक केन्द्रीय सदस्यले भने ‘हाम्रो साझा संस्थाले लामो संघर्ष गरेर रानाथारु समुदायलाई नेपलको आदिवासी समुदायमा सुचिकृत ग¥यो । तर अहिले भाषा लेख्नकोलागि समाजलाई वाइपास गरेर उपमहानगरपालिकाको पैसामा कार्यकर्ता पाल्ने काम भएको छ । संस्थासंग कुनै सरसल्लाह नै नगरी लेखेको भाषा आफुहरुलाई मान्य हुदैन ।’
समग्र रानाथारु समुदायको प्रत्यक्ष सरोकारसँग जोडिने यस्ता महत्वपूर्ण विषयमा सम्पूर्ण रानाथारुको मुल संस्था नेपाल रानाथारु समाजलाई समेत बाइपास गर्ने गरी निहित स्वार्थ पुरा गर्ने गरी एस्तो काम भैरहेको आरोप संस्थाले लगाएको छ ।
यस्ता कार्यलाई तुरुन्त सच्याउन साथै विषय सम्बन्धित विज्ञ टोली बनाइ यस्तो कार्य गर्न धनगढ़ी उपमहानगरपालिका लगायत यस कार्यमा लागेका ब्यक्तिहरुलाई अनुरोध समेत गरिएको ती केन्द्रीय सदस्यले जानकारी दिए । यदि समाजको यो अनुरोधलाई लत्याएर यस प्रकारको गतिबिधि भएमा नेपाल रानाथारु समाज कदापि स्वीकार नगर्ने बताए । सामाजिक कामहरु सबै मिलि सहकार्यमा हुदा समुदायलाई लाभ हुने तर समाजलाई नै गुमराहमा राखी गरिने कार्यले समाजलाई नकारात्मक संदेश दिने समेत उनले बताए ।