Bagmati Samachar Logo

५ बर्ष पहिल्यै छापिएको थियो ८ कक्षाको कितावमा लिम्पियाधुरासहितको नक्सा: लेखक पनेरु

काठमाडौं । ९ जेठ । कक्षा ८ को अङ्ग्रेजी किताबमा लिम्पयाधुरासहितको प्रकाशित भएको नेपालको नक्सा अहिले समाजिक सञ्जालमा भाइरल भएकोछ । सामाजिक सञ्जाल प्रयोगकर्ताले लिम्पियाधुरासहितको नक्सा किताबमै प्रकाशित हुँदा पनि सरकारले प्रकाशन गर्न नसकेको भनेर आलोचना गरेका छन्। कतिपयले त्यसलाई पञ्चायतकालीन किताबमा समेत नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गरेको तर अहिलेको सरकारले त्यति काम पनि गर्न नसकेको भनेर टिप्पणी गरेका छन् । तर उक्त पुस्तक पञ्चायतकालमा प्रकाशन नभई विगत ५ वर्ष अगाडिदेखि मात्रै विद्यालयमा पठनपाठन हुन थालेको थियो ।

पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएको र जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरेको यो पुस्तकका लेखक नरेन्द्रराज पनेरु, विश्वराज जोशी र ध्रुव कुमार न्यौपाने हुन्।

सानोठिमी क्याम्पसमा अङ्ग्रेजी विषयका उपप्राध्यापक र हाल पिएचडी गर्दै गरेका पुस्तकका लेखक मध्येका एक नरेन्द्रराज पनेरुले भन्छन् ।

मसहित विश्वराज जोशी र ध्रुवकुमार न्यौपाने मिलेर यो पुस्तक तयार पारेका थियौँ । यो पुस्तक लेख्नका लागि सन् २०१२ को अन्तिम समयतिर पाठ्यक्रम विकास केन्द्रले सूचना निकालेको थियो । त्यो बेला पुस्तक लेख्न प्रतिस्पर्धा गराउथ्यो । ४ वटा नमुना पाठ माग्थ्यो । हामीले प्रतिस्पर्धाबाट किताब लेख्ने अवसर पाएका थियौँ । किताब लेख्न ४५ दिनको समय लागेको थियो ।त्यसपछि पुस्तक छाप्न थाल्यौँ ।

पुस्तक, सन् २०१५ देखि विद्यालयमा पढाइ हुन थाल्यो र अहिले पनि पढाइ भइरहेको छ । विद्यार्थीलाई देशको बारेमा जानकारी दिनुपर्छ भनेर एउटा पाठमा जिल्ला प्रोफाइल राखियो । कम्तिमा आफ्नो जिल्लाको बारेमा विद्यार्थीलाई थाहा होस् भनेर त्यो विषय छानिएको थियो ।

मेरो घर सुदुरपश्चिमको डडेलधुरा जिल्लाको, गन्यापधुरा गाउँपालिका अन्तर्गत रुन्ताला भन्ने ठाउँ हो । सुदूरपश्चिमलाई त्यतिकै पनि पछि पारिएको छ । सुदूरपश्चिमको केही भूभाग भारतले आफ्नो नियन्त्रणमा लिएको पनि थाहा थियो । तर नक्सामा ती भूभाग थिएन । हामीले पुस्तममा प्रकाशनका लागि नेपालको आधिकारिक नक्सा पनि खोज्यौं । सबैतिर लिम्पियाधुरा बिनाको नक्सा थियो । गुगलमा पनि उल्लेख मात्रामा त्यही नक्सा नै थियो । गुगलमा नक्सा खोज्दै जाने क्रममा नेपालको पूरै भूभाग भएको एउटा नक्सा फेला प¥यो र हामीले त्यसलाई छनौट गरेका थियौँ ।

तर हामीले यसलाई त्यति मतलब गरेका थिएनौं । केहीदिन अघि भूमीसुधार मन्त्रीले लिम्पियाधुरा सहितको नक्सा आफूले देख्न नपाएको भनाइ सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो ।

फेसबुकमा आएको मन्त्रीको भनाइको मुनी कक्षा ८ को अङ्ग्रेजी किताब हेर्नुस् भनेर कमेन्ट गरेको थिएँ । हाम्रो विद्यार्थी भाई जिडि भट्टले फोटोसहित कमेन्ट गरेछन् । पुस्तकका अर्का लेखक विश्वराज जोशीले पनि फेसबुकमा राख्नुभयो । त्यसपछि विस्तारै भाइरल हुँदै गएको रहेछ ।

अहिले सरकारले पनि आधिकारीक रुपमा लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गरेपछि मलाई पनि देशकै सेवा गरेको अनुभूति भइरहेको छ । यसले एउटा राम्रो काम के पनि गरेको छ भने यो नक्सा किताबमै प्रकाशन भएपछि आधिकारिक नक्सा प्रकाशन गर्न सरकारलाई थप दबाब समेत पर्न गयो । लिम्पियाधुरासहितको नक्सा प्रकाशन भएकै छैन भनेका बेला कक्षा ८ को अंग्रेजी किताबमा छ त भनेर सरकारलाई नैतिक दबाब सिर्जना पनि भयो ।

देशको सरकारी पाठ्यपुस्तमै पूरै भू–भाग भएको नक्सा प्रकाशन भएपछि अर्को नक्सासँग तुलना गर्दा केही गडबढ भएको आम मानिसले पनि बुझ्न सके । अन्ततः नेपालको पूरै भूगोल समेटेर सरकारले नेपालको नक्सा सार्वजनिक गरेको छ, हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । अब अतिक्रमणमा परेका ति भूभाग फिर्ता सरकारले फिर्ता ल्याउन पहल गरोस् ।