लकडाउनको समय सुत्केरी हुन लागेकी श्रीमती स्याहार्न हिँडेका श्रीमान १० रात हिउँमै फसे

काठमाडौं । १९ वैशाख । कोरोना त्रास सगै देशनै लकडाउन हुँदा घर बाहिर
रहेको जोकोहिलाई घरपरिवारको चिन्ता हुनेगर्छ । त्यसमा पनि सुत्केरी हुनलागेकी श्रीमती भएपछि कसको मन आँतिन्नर । वैशाख ७ गते सुरज तामाङको जीवनमा त्यस्तैमा भटना भट्यो र हिउँमा अड्किएका सुरजलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। तस्बिर प्रकाश सुनदासको फेसबुकबाट।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका(४ मा उनकी श्रीमती दुई जिउकी थिइन्। उनी सुत्केरी हुने दिन नजिकिँदै थियो तर लकडाउन खुल्ने कुनै छाँटकाँट थिएन।
श्रीमती सुत्केरी भएपछि स्याहार्नुपर्छ भन्ने ठानेर सुरजले हिँड्दै घर जाने योजना बनाए। हिमालको काखैकाख कस्सेर हिँडे सामान्यतय उनी ४ दिनमा घर पुग्थे। घरमा फोन गरेर उनले आफू हिँड्दै आउन लागेको सुनाए।
वैशाख ६ गते लकडाउन भएको २६ दिन बितिसकेको थियो। रसुवागढी हाइड्रोपावरमा काम गर्ने ३३ वर्षका सुरज तामाङको मनमा बेचैनी थियो।
उनी हिँडन आँटेको बाटो सधै चल्ने खालको थिएन। हिउँ पर्दा पुरिइहाल्थ्यो।
वैशाख ७ गते पनि हिउँ पर्यो। जताततै सेताम्य हिउँमा उनले सिन्धुपाल्चोकतिर जाने बाटो पहिल्याउन सकेनन्, हिउँमै हराए। मोबाइलमा ब्याट्री सकियो र सम्पर्क टुट्यो।
। घर आउन हिँडेको छोरो सम्पर्कविहीन भएपछि घरमा चिन्ता बढ्यो र उनका बुवाले गाउँपालिका अध्यक्षलाई खबर गरे।
‘१० गतेतिर उनका बुवाले छोरा हराएकाले खोजिदिन पर्यो भने, हामीले रसुवाका जनप्रतिनिधि र प्रशासनसँग उनलाई खोजिदिन आग्रह गर्यौं,’ बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले भने,‘तर एक सातासम्म पनि केही खबर आएन।’
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी इन्द्र सुवेदीका अनुसार हिउँमा फसेपछि सुरज हिँड्दाहिँड्दै ओडारमा पुगेछन्।
लामो यात्रामा हिँडेका सुरजले सातु र चाउचाउ बोकेका थिए। त्यही खाए। झोलाभरि बोकेका सबै लुगा लगाए।
१७ गते हिउँ पर्न रोकिएपछि आफू फेरि हिँड्न थालेको उनले प्रहरीलाई बताएका छन्।
‘नदीको किनारैकिनार हिँडे भने कहिँ पुगिन्छ होला भनेर हिँडे,’ उनले प्रहरीलाई भनेका छन्।
नदीको किनारै किनार हिँड्दा उनी एक सानो होटलमा पुगे। त्यो नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ झ्याङफेदी भन्ने ठाउँ थियो।
त्याहाँ उनले आफ्नो कहानी सुनाएपछि होटल मालिकले प्रहरीलाई खबर गरिदिए।उनी भेटिएको खबर रसुवा हुँदै बलेफीसम्म पुग्यो।

गाउँपालिका अध्यक्ष क्षेत्री र नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याउने तयारी गरे।
‘तर बिहीबार उनी बसेको ठाउँसम्म हेलिकप्टर जान सकेन,’ क्षेत्रीले भने,‘आज बिहान मनाङ एयरको हेलिकप्टरमा उनलाई काठमाडौं ल्याएर आयौं।’
क्षेत्रीका अनुसार सुरजको अहिले नयाँबानेश्वरस्थित सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
उसको घुँडाभन्दा मुनि खुट्टा र हातमा समस्या छ, मुखमा पनि घाउ छ,’ क्षेत्रीले भने,‘तर डाक्टरहरूले उनको अवस्था खतरामुक्त भएको बताएका छन्।’
क्षेत्रीले सुरजलाई उद्धार गरेको हेलिकप्टरको खर्च उनी काम गर्ने कम्पनीलाई तिराउने बताए।
प्रतिक्रिया दिनुहोस्: