दार्चुलाबाट उद्धार गरिएका नेपाली भन्छन् नाम मात्रको क्वारेन्टाइन थियो
दार्चुला१७ वैशाख, कैलाली । दार्चुलास्थित मार्मा गाउँपालिका–५ का ४२ वर्षीय दीपेन्द्र सिंहलाई भारतीय भूमिमा ३३ दिन लामो क्वारेन्टाइन बसाइँ निकै कष्टकर लाग्यो ।
भारतमा मजदुरी गर्न गएका सिंह चैत १३ गते दार्चुला आइपुगेका थिए । तर, त्यतिबेलासम्म नेपाल भारत सीमा नाकामा आवतजावत बन्द भइसकेको थियो । त्यसैले उनी मात्र होइन, ठूलो संख्यामा नेपालीहरू भारतको बालुवाकोटमा अलपत्र परे ।
‘त्यो क्वारेन्टाइनभन्दा पनि यातना गृह जस्तो थियो’ बिहीबार नेपाल प्रवेश गर्न पाएपछि उत्साहित उनले भने, ‘आज त जेलमुक्त भएको जस्तो लागेको छ ।’
दार्चुला नाकाबाट ल्याएर उनीहरूलाई नमुना महेन्द्र उच्चमाविमा राखिएको छ । तर, उनलाई भने कतिबेला सबै प्रकृया सकिन्छ र घर जान पाइन्छ भन्ने लागेको छ । ‘३४ दिनमा नेपाल प्रवेश गर्न पाएका छौँ, निकै खुसी लागेको छ’ उनले टेलिफोनमा अनलाइनखबरसँग भने, ‘मातृभूमि टेक्न पाउँदा आनन्द लाग्दोरहेछ ।’
दुई छोरा भेट्न आतुर रहेको उनले सुनाए । त, स्वास्थ्य परीक्षण गरेर मात्र घर जाने उनको योजना छ । ‘बालबच्चालाई भेट्न मन छ । उनीहरू पनि बाटो हेरेर बसेका छन् । तर, स्वास्थ्य परीक्षणविना घर जानु ठीक छैन’ उनले भने ।
क्वारेन्टाइनमा बस्दा कुनै समस्या नदेखिए पनि परीक्षण गरेर ढुक्क हुन चाहेको उनले सुनाए ।
५ महिना पहिले मजदुरी गर्न भारत गएका मर्मा गाउँपालिका–५ कै ४३ वर्षीय राजेन्द्र मेहता पनि बिहीबार नेपाल आउन पाए । दार्चुला नाकामा आएर रोकिएपछि ३३ दिन निकै कष्टपूर्ण जीवन बिताएको भन्दै उनले भने, अर्काको देशमा धेरै दुःख पायौँ । आज यहाँ ९नेपाली भूमिमा० पुग्दा त निकै खुसी लागेको छ ।’
बझाङको बुंगल नगरपालिका–८ कपलसेरीका २० वर्षीय दिलेन्द्र लोहारको अनुहारमा पनि चमक छ । उनी बस कुरेर बसिरहेका छन् । ‘बैतडीका नागरिकलाई घर पठाएपछि हाम्रो पालो आउँछ’, उनले भने, ‘देश त आयौँ, अब घर पुग्न आतुर छौँ ।’
उनीहरूलाई लिन बुंगल नगरपालिकाका मेयर आफैँ पुगेका छन् । तर, तत्काल घर प्रवेश गर्नेरनगर्नेबारे उनी दोधारमा छन् । ‘३४ दिन त्यहाँ बसेका छौँ । फेरि क्वारेन्टाइन त बस्नु पर्दैन कि रु’ उनी भन्छन्, ‘वडामा जान्छु । त्यहाँ जे भन्छन्, त्यही गर्छु । ’
उनीसँगै रहेका कपलसेरीका बिक्रम बिक भने स्वास्थ्य परीक्षण गरेर मात्र घर प्रवेश गर्ने बताउँछन् । उनले भने, ‘३४ दिन त्यहाँ बस्यौँ । निकै समस्या भोग्यौँ । यो त आफ्नै देश हो । अब स्वस्थ छु भनेर ढुक्क भएपछि मात्र घर जाने हो ।’
स्थानीय जनप्रतिनिधिले भनेअनुसार क्वारेन्टाइनमा बस्न आफू तयार रहेको उनले सुनाए । कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सरकारले चैत १० गते १० बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको थियो ।
त्यहीकारण करिब दुई हजार नागरिक महाकालीपारि अलपत्र परे । नेपाल र भारतबीच सहमति भएपछि धार्चुलामा अलपत्र परेका नेपालीहरूलाई भारतीय भूमिमा नै क्वारेन्टाइनमा राखिएको थियो ।
तर, नाम मात्रको क्वारेन्टाइन भएको र कोचेर राखेको भन्दै नेपालीहरूले गुनासो गरेका थिए । उनीहरूको बिहीबार बिहानबाट उद्धार सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर यातायातको व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: