रौतहटका दुई जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ । १६ वैशाख । रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको जिल्ला अस्पताल गौरका अधिकृत महेश साहले जानकारी दिए ।
अस्पतालका अनुसार देवाही बोनाही नगरपालिका ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि चोरबाटो हुँदै नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरेको छ ।
यस्तै, वृन्दाबन नगरपालिका २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: