Bagmati Samachar Logo

बागलुङकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ

डिस्चार्जको तयारी गर्दै अस्पताल

काठमाडौं । ६ वैशाख । कोरोना भाइरसको सक्रमण देखिएपछि धौलागिरी अञ्चल अस्पतालमा उपचाररत महिलाको चौथोपटक स्वाब परिक्षणको रिपोर्ट नेगेटीभ आएको छ । उनको आइसोलेसनमा उपचार भइरहेको थियो । उनी बागलुङकी ६५ वर्षीया वृद्धा थिइन ।
यसअघि बिहीबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उनको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ देखिएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्टसमेत नेगेटिभ आएकाले उनमा कोरोनाको संक्रमण सकिएको पुष्टि भएको छ ।

स्वाब परीक्षणका क्रममा लगातार दुई पटक रिपोर्ट नेगेटिभ देखिएपछि कोरोना संक्रमण निको भएको मानिने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

शुक्रबार स्वाब परीक्षणकाा लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइए पनि शनिबार दिउँसो मात्र रिपोर्ट आएको हो । उनी नेपालकै छैटौँ कोरोना संक्रमित महिला हुन् ।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा गत २० चैतमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने विषयमा भने छलफल चलिरहेको छ । उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी गरिएको छ । कोरोनाको संक्रमण निको भएको भए पनि उनले केही दिन होम क्वारेन्टाइनमा भने बस्नुपर्नेछ ।