Swornakshar Logo

प्रहरीकै घरमा काम गर्ने १४ वर्षीया किशोरी मृत फेला

हत्या भएको भन्दै आफन्तले दिए उजुरी

हेटौडा । २९ चैत । प्रहरीकै घरमा काम गर्न राखेकी किशोरी मृत्त फेला परेकी छिन् । बाजुरा घर भएकी १४ वर्षीया किशोरी ललिता विष्टको शव बिहीबार राति बाँकेको नेपालगञ्ज शान्तिनगरस्थित महिला प्रहरी हवल्दार शान्ता मल्लको घरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

शान्ता प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छिन् । मृतक बालिका उनकै घरमा बसेर ७ कक्षामा पढ्दै आएकी थिइन् । हवाल्दार शान्ताका श्रीमानसमेत प्रहरी हवाल्दार नै हुन् । मृतक ललिताका आफन्त अम्बर डडालले भने बालिकाले आत्महत्या गरेको नभई हत्या भएको आशंका रहेको बताए ।

‘बालिकाको शव घरनजिकैको बारीको बकैनाको रूखमा झुण्डिको अवस्थामा फेला पर्‍यो, खुट्टाले जमिन छोएको अवस्था छ, कसरी आत्महत्या भन्ने ? हामीलाई हत्या गरेको आशंका छ,’ अम्बर डडालले भने ।

हत्या भएको आशंकामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदनसमेत दिएको उनले बताए । ‘बाजुराबाट बोर्डिङ स्कुमा पढाइ दिन्छु भनेर नेपामागञ्ज ल्याउनु भएको हो । यता, पुगाएपछि भने सरकारी स्कुलमा भर्ना गरेको पाएँ,’ डडालको गुनासो गरे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी शिवबहादुर सिंहले भने भुण्डिएको अवस्था शव फेला परेकाले अहिले नै केही भन्न नमिल्ने बताए ।

‘बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको हो । परिवारबाट हत्याको आशंका गरेर निदेवन दिनु भएको छ । शव पोस्टमार्टमको लागि अस्पताल पठाएका छौँ, पोस्टमार्टम रिपोर्टबाट सबै थाहा हुन्छ,’ सिंहले भने । उनले पोस्टमार्टमका लागि किशोरीको शव भेरी हस्पतालमा लगिएको बताए ।