डोटीमा एकैदिन २ सय १३ जनाको र्यापिड टेस्ट, सबैको नतिजा नेगेटिभ
काठमाडौं । २८ चैत । शुक्रबार डोटीमा र्यापिड टेस्ट किटमार्फत गरिएको परीक्षणमा कोरोना भाइरको परिक्षण नेगेटिभ देखिएको छ। डोटीमा २ सय १३ जनाको परीक्षण गरिएको थियो। सबैको नतिजा नेगेटिभ आएको छ, स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
र्यापिड टेस्ट क्वारेन्टाइनमा बसेका बाहेकका व्यक्तिहरुको लिइएको उनले जानकारी दिए। बोगटान गाउँपालिकामा एक सय, आदर्श गाउँपालिकामा २५, सायल गाउँपालिकामा २५, बडीकेदारको बीपीनगरमा २२ र खड्यौलीमा ४१ जनाको परीक्षण गरिएको थियो।
यसअघि क्वारेन्टाइनमा बसेका ३ सय ३० जनाको थ्रोट स्वाब संकलन गरी काठमाण्डौं लगिएको छ। सो परीक्षणको रिपोर्ट अझै आइनसकेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।
डोटी अस्पतालमा कोरोनाको लक्षण देखापरेको आशंकामा ३ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। ६ जना भर्ना भएकामध्ये ३ जनाको स्वाब परीक्षणपछि नेगेटिभ आएपछि घर फर्काइएका छन् भने बाकी ३ जनाको नतिजा आइसकेको छैन। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्रमुख मलासीले जानकारी दिए। आइसोलेसनमा भर्ना भएकामध्यै सबै जना भारतबाट आएका युवाहरु छन्।
फागुनयता मात्रै भारतबाट करिब ४ हजार जना भित्रिएपछि ग्रामीण क्षेत्रमा संत्रास फैलिएको थियो।
प्रतिक्रिया दिनुहोस्: