Bagmati Samachar Logo

अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा एक जनाको मृत्यु

हेटौडा । २४ चैत । कपिलवस्तुकी एक महिलाले ज्वरो आएर अस्पताल गएपनि उपचार नपाउदा मृत्यु भएको छ । ज्वरो आएकाले कोरोना आशंकामा अस्पतालले उपचार गर्न नमान्दा उनको मृत्यु भएको हो ।

आइतबार राति ज्वरो आएपछि कपिलस्तु जिल्ला अस्पतालमा पुगेकी थिइन्, यशोधरा गाउँपालिका ७ रंगपुरकी अन्दाजी ३६ वर्षीय कलामुन निशा । तर, अस्पतालले भर्ना गर्न नमानेपछि भैरहवा लगिएको थियो ।

भैरहवास्थित युनिर्भसल मेडिकल कलेजले पनि भर्ना नलिएपछि पुनः कपिलवस्तु जिल्ला अस्पतालमा लगिएको थियो । दोस्रो पटक पनि भर्ना नगरेपछि निशालाई उनको परिवारले घरै फर्काएका थिए ।
उपचारका लागि अस्पतालमा भर्ना नै हुन नपाएकी निशाको सोमबार बिहान मृत्यु भएको हो ।

निशाका विषयमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले थाहा पाएपछि जिल्ला अस्पतालमा ल्याउन भनेका थिए । तर, उनलाई जिल्ला अस्पतालमा ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक निशाले तीन दिन पहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि लिएर खाएकी थिइन् । उक्त औषधिले काम नगरेपछि उनलाई आइतबार अस्पतालमा लगिएको थियो । सामान्य ज्वरो आएका बिरामीलाई अस्पतालले भर्ना नगर्दा अकालमै महिलाको ज्यान गएको गाउँपालिकाका वडासचिव हलिम मुसलमानले बताए ।

उता, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बिरामीलाई अस्पतालले भर्ना नगरेको भन्ने गुनासो आफूलाई आज बिहान मात्र आएको बताए ।

निशालाई आइतबारै अस्पतालमा भर्ना नगरिएको सम्बन्धमा भने अस्पतालले भने केही जवाफ दिएको छैन ।