Bagmati Samachar Logo

संसदमा प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्नु पर्ने

६ चैत । काठमाडौं । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सङ्घीय संसद्ले पनि विशेष सावधानी अप्नाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो ।

सांसदलाई बैठकमा प्रवेश गर्नुपूर्व चिकित्सक टोलीले तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले तापक्रम परीक्षण गरेर मात्र प्रवेश गराएको छ । सङ्घीय संसद्कै चिकित्सक टोलीले आजदेखि उक्त जाँच शुरु गरेको बताएको छ ।

बैठकले सम्भावित जोखिमलाई ध्यानमा राखी विशेष सावधानी अपनाउन शैक्षिक संस्था बन्ददेखि, खेल मैदान, चलचित्रघर, हेल्थ क्लब, डान्सबार, स्विमिङ पुललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

कुनै पनि ठाउँमा अत्यावश्यक कामबाहेक सार्वजनिकस्थल, सांस्कृतिक केन्द्र, पार्टी प्यालेसलगायत स्थलमा २५ जना भन्दा बढी भेला तथा जमघट हुन नदिने निर्णयसमेत गरेको थियो । सरकारले सोही रोगको जोखिमलाई ध्यान दिँदै आजदेखि शुरु हुन लागेको एसइई परीक्षा तथा चैत महिनाभरमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।