काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रियताको संरक्षण र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट तथा समाजवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका समूहहरूलाई पनि एकता तथा सहकार्यको प्रक्रियामा आउन आह्वान गरे ।
उनले विगतमा विप्लव नेतृत्वको पार्टीसँग मिलेर समाजवादी मोर्चा गठन गरी देशव्यापी अभियान सञ्चालन गरेको स्मरण गर्दै त्यसले जनस्तरमा उत्साह र तरङ्ग पैदा गरेको बताए ।
उनले भने, ‘अझै म भन्छु नेत्रविक्रम चन्दजीलाई पनि— तपाईं सोच्नुहोस्, तपाईंहरूसँग हामीले मिलेर एउटा समाजवादी मोर्चा बनाएका थियौँ। र त्यो समाजवादी मोर्चाको माध्यमबाट देशव्यापी रूपमा अभियान पनि चलाएका थियौँ। त्यो अभियान शानदार रूपमा सबै ठाउँमा आयोजित भएको थियो । हजारौँ–हजार कार्यकर्ताहरू समावेश हुने गर्दथे । त्यसले एउटा बेग्लै किसिमको तरङ्ग पैदा गरेको थियो ।’
नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित अन्य समाजवादी शक्तिहरूलाई पनि सहकार्यमा आउन आग्रह गरे ।
कम्युनिस्ट पार्टीमा आउन आग्रह गर्न नसकिए पनि समाजवादी अभियान, राष्ट्रियताको रक्षा, संविधान र गणतन्त्रको संरक्षण तथा जनअधिकारका लागि मिलेर अघि बढ्न सकिने उनको भनाइ थियो ।
नेपालले नेपाली कम्युनिस्ट पार्टीप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपेक्षा रहेको दाबी गर्दै विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको निराशालाई चिर्नुपर्ने बताए ।
अमेरिकी साम्राज्यवादका आक्रामक नीति र नेपाललाई आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने स्थानका रूपमा हेर्ने प्रवृत्तिले पनि कम्युनिस्ट आन्दोलनमा चुनौती थपिएको उनको भनाइ थियो ।
पछिल्लो विश्व परिवेशमा विकसित भइरहेका घटनाक्रमले कम्युनिस्ट, वामपन्थी र परिवर्तनका पक्षधरहरूका लागि उत्साहजनक सन्देश दिएको उनले बताए ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकाले एकता र रूपान्तरण अपरिहार्य भएको बताइन् ।
उनले विगतमा ६० देखि ६५ प्रतिशतसम्म जनमत रहेको कम्युनिस्ट आन्दोलन अहिले २२ देखि २३ प्रतिशतमा खुम्चिएको उल्लेख गर्दै दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिसकेका कम्युनिस्टहरू सीमित सिटमा खुम्चिनुपर्ने अवस्था आएको बताइन् ।
उनले भनिन्, ‘कम्युनिस्ट आन्दोलन असाध्यै रक्षात्मक अवस्थामा पुगेको छ । ६०–६५ प्रतिशत जनमत भएको नेपालको कम्युनिस्ट आन्दोलन अहिले २२–२३ प्रतिशत जनमतमा झरेको छ । दुईतिहाइ बहुमतको सरकार चलाएका कम्युनिस्ट आज सीमित सिटमा खुम्चिनुपरेको छ । यस्तो अवस्थामा आएका छौँ। त्यसो भएर कम्युनिस्ट आन्दोलन अब ‘कि गर, कि मर’, ‘कि चाहिँ अगाडि बढ, कि सुध्र’ भन्ने स्थितिमा आइपरेको छ ।’
भुजेलले कम्युनिस्टहरू समाप्त नभइसके पनि एकता र रूपान्तरण हुन नसके अस्तित्व संकटमा पर्ने चेतावनी दिइन् । आन्तरिक कमजोरीसँगै बाह्य शक्तिहरू पनि कम्युनिस्ट आन्दोलन कमजोर बनाउने अभियानमा लागेको उनको आरोप थियो ।
उनले अहिलेको अवस्थामा कुनै पनि कम्युनिस्ट पार्टी एक्लै अघि बढेर आफ्नो अस्तित्व जोगाउन र निर्वाचन जित्न सक्ने अवस्था नरहेको बताउँदै एकताको विकल्प नभएको धारणा राखिन् ।
भुजेलले प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा सबै कम्युनिस्ट शक्तिहरू गोलबन्द हुनुपर्ने आवश्यकता औँल्याइन् । तर, ठूलो पार्टी बनाउनु मात्रै एकताको उद्देश्य नभएको स्पष्ट पार्दै समाजवाद स्थापनाका लागि नेतृत्वले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताइन् ।












प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…