Bagmati Samachar Logo

भोलिदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

५ चैत । काठमाडौं । सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सरकारलाई एसईई रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन ।

यसअघि समितिले जारी गरेको १६ बुँदे निर्णयमा एसईई परीक्षा सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने बताएको थियो । बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए । त्यसमध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।