बरामद गरिएको मास्क बेच्न प्रहरीलाई निर्देशन
३ चैत । काठमाडौं । महान्याधिवक्ताको कार्यालयले प्रहरीले बरामद गरेको सर्जिकल मास्क सर्वसाधारणलाई बेच्न निर्देशन दिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद जनहितलाई ख्याल गर्दै सो मास्क बिक्री वितरण गर्न निर्देशन दिएका हुन् ।
कालो बजारीका लागि लुकाइराखेको मास्क नियन्त्रणमा लिएसँगै प्रहरीलाई सो मास्क बेच्नका लागि बाटो खुलेको हो । अब बरामद गरिएका १० लाखभन्दा बढी मास्क बजारमा बिक्रीवितरणका लागि आउने भएका छन् ।
सोमबार महान्यायाधिवक्ताको कार्यालयले विज्ञप्ति जारी गर्दै विक्री गर्न निर्देशन दिएको हो । विश्वमा महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित हुन सर्जिकल मास्कको नेपाली बजारमा अभाव हुने देखिएपछि महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता २०७४ को दफा २७ अनुसार मुद्दा चल्ने गरी मास्क बेच्न निर्देशन दिएको हो ।
यसरी मुद्दा चलिरहेको अवस्थामा पनि मास्क बेच्न सकिने जनाउँदै प्रमाणका लागि मास्कको मूल्य र नमुनासहितको फोटो लाई डिजिटल अभिलेखको रूपमा राख्न कार्यालयले प्रहरीलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्: