Bagmati Samachar Logo

कोरोना संक्रमित भेटिए टेकु, पाटन र एपीएफ अस्पतालमा उपचार हुने

२ चैत । काठमाडौं । सरकारले विश्वरभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमण भेटिए उपत्यकाका ३ वटा अस्पताल खाली गराएर संक्रमितको मात्र उपचार गर्ने योजना अघि बढाएको छ ।

स्वास्थ्य मन्त्रालयको पहलमा भएका छलफलमा टेकु अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताललाई खाली गराएर संक्रमितको उपचार गर्ने योजना बनाएको हो ।

मन्त्रालयका कोरोनाविरुद्ध लड्ने प्लान बीअन्तर्गत टेकु, पाटन र एपीएफ अस्पतालका बिरामी खाली गराएर संक्रमितको उपचार गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रतिनिधिले शुक्रबार ती अस्पताल भ्रमण गरेर आवस्यक सामग्रीसहितको प्रतिवेदन बुझाउन भनेपछि आइतबार तीनवटै अस्पतालसहित वीर अस्पतालले समेत आवश्यक उपकरणसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएका छन् ।

मन्त्रालयको अनुरोधअनुसार टेकु अस्पतालले कोरोना संक्रमणविरुद्ध लड्न आवश्यक उपकरणसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको टेकु अस्पतालका सूचना अधिकारी रूपनारायण खतिवडाले बताए ।

नेपालमा संक्रमण देखिए यी तीन अस्पतालका बिरामीलाई तत्काल अन्यत्र सारेर संक्रमितको मात्र उपचार गर्ने योजना सबै अस्पतालले बुझाइसकेका उनले बताए ।

खतिवडाका अनुसार मन्त्रालयले भने बमोजिम ब्याकअप प्लानअन्तर्गत चाहिने सामग्री जस्तै आईसीयू एक्सपान्सन, क्वारेण्टाइन कति चाहिन्छ भनेर हामीले योजना बुझाएका छौं ।

टेकु अस्पतालले हाल ३ वटा आईसीयू सञ्चालन गरिरहेकोमा संक्रमण देखिए त्यसलाई १५ वटा पुर्‍याउनुपर्ने र हाल कायम ४० वटा क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्ने माग अघि सारेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार कोरोना संक्रमण देखिए संक्रमितलाई मात्र बेग्लै उपचार गर्न तीनवटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।

आज राष्ट्रियसभामा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे बताउँदै उनले भने, हाल १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरे पनि संक्रमण फैलिएको अवस्थामा तीनवटा अस्पतालमा केन्द्रित भई तीनै अस्पतालबाट कोरोना संक्रमणको मात्रै सेवा दिने गरी आवश्यक व्यवस्था मिलाउने गरी आवश्यक औषधि र औजारहरूको जोहो गर्ने तयारीमा सरकार लागेको छ ।

उनका अनुसार काठमाडौंमा १ सय ७० बेडको आईसीयू सञ्चालनमा छन् । उपत्यकाभित्र १ सय २० र बाहिर १ सय १५ वटा गरेर २ सय ३५ वटा आईसीयूको व्यवस्था तत्काल गर्ने काममा भइरहेको छ ।