Bagmati Samachar Logo

मोदीको सक्रियतामा सार्कमा कोरोना बहसः पाकिस्तानका प्रधानमन्त्री अनुपस्थित

२ चैत । काठमाडौं । आइतबार सार्क मुलुकका सरकार प्रमुखहरुले विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा भिडियो कन्फ्रेन्सिङमार्फत छलफलमा जुटेका छन् ।

छलफलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मो. सोलिह, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, श्रीलंकाका राष्ट्रपति गोतबाया राजपक्षे, भुटानका प्रधानमन्त्री लोतेया त्शेरिङ सहभागी छन् । उक्त छलफलमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने अनुपस्थित छन् ।

पाकिस्तानका तर्फबाट स्वास्थ्य राज्यमन्त्री जाफर मिर्जाले भिडियो कन्फ्रेन्सिङलाई सम्बोधन गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार ट्विट गर्दै सार्क देश (नेपालसहित अफगानिस्तान, पाकिस्तान, बंगलादेश, भारत, भुटान, मालदिभ्स र श्रीलंका) कोरोना भाइरसविरुद्ध विशेष रणनीति बनाएर काम गर्नुपर्ने प्रस्ताव राखेका थिए । सार्क देशका नेता भिडियो कन्फ्रन्सिङ मार्फत कोरोनाबारे कुराकानी गर्न सकिने पनि बताएका थिए ।

भिडियो कन्फ्रेन्समा भारतले सार्क राष्ट्रहरु समक्ष कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लड्न आपतकालिन कोष निर्माणका लागि प्रस्ताव राखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका प्रमुखहरुसँगको भिडियो कन्फ्रेन्समा आपतकालीन कोष स्थापनाका लागि भारतले १० मिलियन अमेरिकी डलर (११ अर्ब ८० करोड रुपैयाँ) राख्ने घोषणा समेत गरे । आपतकालीन कोषमा जम्मा रहेको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उनले राखे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको कुल जनसंख्याको पाँच भागको जनसंख्या दक्षिण एसियाली मुलुकमा बसोबास रहेका भन्दै भारत कोरोना संक्रमणको चुनौती सामना गर्न तयार रहेको र आवश्यक तयारी गरिएको भन्दै नआत्तिन आग्रह गरे । उनले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गरे ।

भारतमा अहिले कोरोना संक्रमितहरु बढ्दै गएपनि सरकार स्टेप स्टेप गरेर संक्रमणलाई कम गर्दे लैजाने प्रतिवद्धता जनाए । उनले संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरे थप क्वारेन्टाईन र आईसोलेसन सुविाधाको व्यवस्था गरिएको पनि बताए ।