Swornakshar Logo

कोरोना संक्रमण रोक्न दलहरूको सामूहिक प्रतिवद्धता

विदेशबाट फर्केका हरेक व्यक्तिलाई अनिवार्य क्वारेन्टाइन

काठमाडौं । २८ फागुन । राजनीतिक दलहरूले विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरसको संक्रमण रोक्न सामूहिक प्रतिवद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज बुधबार बसेको सर्वदलीय बैठकले नेपालमा संक्रमण फैलिन नदिन सामूहिक प्रतिवद्धता जनाएको नेपाली कांग्रेसका नेता गगन थापाले जानकारी दिए ।

उनका अनुसार दलहरूबीच कोरोनाबाट बढी संक्रमित देशका नागरिकको आवतजावतमा कडाइ गर्ने, आवश्यक परे नेपाल प्रवेश गर्न नदिनेलगायतका विषयमा समेत दलहरू एकमत भएका छन् ।

पूर्वप्रधानमन्त्रीहरूसहित सबै दलका नेता उपस्थित बैठकले सबै मन्त्रालयलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि हाई अलर्टमा राख्ने निर्णयसमेत गरेको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए ।

उपभोग्य वस्तुको कालो बजारी नियन्त्रणमा कडाइका साथ लाग्ने, औषधिलगायतमा नागरिकको सहज पहुँच बनाउनेलगायतका विषयमा दलहरूले सरकारलाई सुझाव दिएको श्रेष्ठले बताए ।

बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले फ्रन्ट डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई बीमा र अतिरिक्त सुविधा उपलब्ध गराउने निर्णय गरिएको जानकारी गराएका छन् ।

उनले संक्रमणबाट जोगिन मेडिकल उपकरणको जोहो गर्नेलगायतका सबै खाले तयारी सरकारले गरेको जानकारी गराएका छन् ।

सर्वदलीय बैठकमा भएका छलफलबारे जानकारी दिँदै कांग्रेस नेता गगन थापाले कोरोना भाइरसका बारे राज्यले केन्द्रीकृत सूचना सम्प्रेषण गर्ने र यसको जिम्मेवारी सञ्चार मन्त्रालयलाई दिने निर्णय भएको बताए ।

उनका अनुसार संक्रमणको आशंका भएका र विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारलाई सुझाव दिएको बताए ।

बैठकले काठमाडौंका सरकारी अस्पतालमा रहेका १५० आईसीयू कक्षलाई वढाउने विषयमा समेत छलफल भएको छ ।

सर्वदलीय बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोनाका कारण अर्थतन्त्र ओरालो लाग्न नदिन विशेष योजना बनाउँदै गरेको जानकारी दिँदै विशेष आर्थिक प्याकेज घोषणा गर्ने तयारी भइरहेको बैठकलाई जानकारी दिएका छन् ।