Swornakshar Logo

नेपाललाई कोरोनाको औषधी र प्रविधि दिन तयार छौँः चीन

२८ फागुन । काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सचिवालयका अनुसार मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईसँग चिनियाँ राजदूत होउ यान्छीले नेपालका लागि कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

साथै राजदूत यान्छीले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसासमेत गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि चीनले अपनाएका सबै प्रविधि, औषधी र सूचना नेपाललाई दिन तयार रहेको उनको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवका बारेमा बताउँदै भाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताए ।

मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गरे । उनले कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरीरहेको बताए । अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच, अस्पतालहरुमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्था लगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा मन्त्री भट्टराईले बताए ।