Swornakshar Logo

विद्यालय हिँडेकी शिक्षिका कान्लामुनि मृत अवस्थामा फेला

२७ फागुन । काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ प्रप्चामा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छन् । मंगलबार बिहान स्कुल जान भनी घरबाट हिँडकी स्थानीय शिक्षिका २७ वर्षीय हिरा कार्की बारीको कान्लामुनि मृत अवस्थामा फेला परेकी हुन् ।

वडाअध्यक्ष टंकनाथ दाहालका अनुसार स्थानीय पेशल प्राविमा अध्यापन गराउँदै आएका कार्की बाटोबाट करिब १० मिटर तल बारीको कान्लामुनी मृत फेला परेको बताए । कार्कीको शवलाई स्थानीयले घोप्टो परेको र मुखबाट रगत बगेको अवस्थामा फेला पारेको दाहालले बताए । कार्कीको लडेर वा अन्य के कारणले मृत्यु भएको हो भन्ने खुल्न बाँकि नै छ ।

घटना शंकास्पद नै रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।

घरबाट करिब २ घन्टाको पैदलयात्रापछि पुगिने विद्यालयमा उनी दैनिक रुपमा सोही बाटो ओहोरदोहोर गर्दै आएकी थिइन् । लडेर उनको मृत्यु भएको भनिएपनि सानो कान्लाबाट लडेर मृत्यु भएको हो या हैन भन्ने बिषयमा अनुसन्धान पछि खुल्ने उनले बताए ।

बस्नेतका अनुसार प्रहरीले मुचुल्का संकलन गरी पोष्टमार्टमका लागी शव जिल्ला ल्याउने तयारी गरिरहेको छ । मृतक कार्कीका दुई वर्षका छोरा समेत रहेका छन् ।