अब मास्कको अभाव नहुने, व्यवसायी मल्होत्राले विदेशबाट मेसिन ल्याउँदै
![](https://www.bagmatisamachar.com/wp-content/uploads/2020/03/1583672948158367212789075255_13789255256.jpg)
२५ फागुन । काठमाडौं । व्यवसायी दीपक मल्होत्राले कोरोना भाइरसको त्रासका कारण मास्कको माग बढेसँगै कालोबजारी बढेपछि सस्तो मूल्यमा सजिलै मास्क उपलब्ध गराउने भएका छन् । यस कार्यका लागि उनलाई सरकारसँगै नेपाल चेम्बर अर्फ कमर्सले सहयोग गर्नेछन् ।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारलाई सहयोग गर्न केही दिनअघि चेम्बरले मल्होत्राको संयोजकत्वमा कमिटी गठन गरेको थियो । सोही कमिटीले निकालेको निष्कर्शअनुसार विदेशबाट मेसिन ल्याएर मास्क उत्पादन गर्न लागिएको मल्होत्राले बताए ।
मल्होत्राका अनुसार मास्क उत्पादन गर्ने मेसिन अबको २, ३ दिनभित्रै नेपाल ल्याइने छ । मेसिन र कच्चा पदार्थ भारतबाट नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ उनले भने ।
कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्कको अभाव देखिनुको साथै कालोबजारी बढेको छ ।
अरु बेला १० देखि २० रूपैयाँमा पाइने मास्कलाई बजारमा हिजोआज ५० देखि ६० रूपैयाँसम्म पर्न थालेको छ । व्यवसायी मल्होत्राले उत्पादन गर्ने मास्क साबिकको मूल्यभन्दा पनि सस्तो हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: