Swornakshar Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार, खाना दिएर हिँडाउन थालियो

काठमाडौं । २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई खाना दिइनुका साथै हिँडडुल समेत गराउन थालिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा।प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्री ओलीको फिजियोथेरापीलाई समेत निरन्तरता दिइएको छ ।

उनको भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् । कार्यकारी निर्देशक खड्गाका अनुसार मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ । उनी पनि हिडडुल गर्न थालेकी छन् ।

चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । लिखित सन्देश पठाउँदै राष्ट्रपति सिले ओलीको स्वास्थयलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपाल र चीनका दुबै पार्टी र देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू इच्छुक रहेको पनि सीले बताएको थापाले जानकारी दिए । गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।