Swornakshar Logo

अस्पतालबाट आयो यस्तो विज्ञप्ति, प्रधानमन्त्री ओली निगरानीमा

२० फागुन । काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पताल स्रोतले बताएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै ओलीको स्वास्थ्य राम्रो भएको बताएको हो । विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जनाए । ओली अहिले अस्पतालमा विशेषज्ञको निरन्तर निगरानीमा छन् ।

हालसम्म उहाँको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ, विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण अगाडि दिइने आवश्यक औषधि दिन सुरु गरिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण २०६४ साउनमा भारतको अपोलो अस्पतालमा गरिएको थियो । ओलीलाई बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् ।

ओलीलाई दोस्रो पटक मिर्गौला दिन उनकी भाञ्जी नाताकी समीक्षा संग्रौला तयार छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको छ ।

पहिलो पटक भन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन् ।