Swornakshar Logo

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा

२० फागुन । काठमाडौं । बुधवार प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउँदैछन् । ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सम्पूर्ण तयारी पूरा भएको अस्पताल स्रोतले बताएको छ ।

ओलीको मिर्गौलाले काम गर्न छाडेपछाडि पुनः प्रत्यारोपण गर्न लागेका हुन् । उनी कात्तिकदेखि डाइलाइसिस गराउँदै आएका थिए ।

ओलीको मिर्गौला प्रत्यारोपण नेपाली चिकित्सकको टोलीले गर्ने अस्पतालले बताएको छ । आज गरिएका सम्पूर्ण जाँचको रिपोर्ट सकारात्मक आएको मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले बताए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि प्राध्यापक डाक्टर पे्रमराज ज्ञवालीसहित ६ जना सर्जन छन् भने २ जना एनेस्थेसिस्त, नर्स र पारामेडिक्सको टोली सहित ८ जना तयारी अवस्थामा छन् ।

अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई अब्जरवेशनमा राखिएको छ । उनलाई मिर्गौला दान दिनका लागि भान्जी समीक्षा संगौला ज्ञवाली समेत अस्पताल भर्ना भइसकेकी छन् ।

भोलि बुधबार बिहान ९ बजेदेखि प्रत्यारोपणको कार्य सुरु हुने अस्पताल स्रोतले बताएको छ ।