Swornakshar Logo

चीनबाट ल्याइएका १७५ नेपाली कोरोनामुक्त, आज घर पठाउने तयारी

१९ फागुन । काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानबाट उद्दार गरेर ल्याएको नेपाली विद्यार्थीलाई १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । उद्धार गरी ल्याएका १ सय ७५ जनामा कोरोना भाइरस नदेखिएको अधिकारीहरूले बताएका छन् ।

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाउने तयारी गरिएको हो । उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणको क्रममा कोरोनाको संक्रमण नपाइएपछि घर पठाउने तयारी गरिएको हो ।

शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको पठाइएकोमा सोमबार रिपोर्ट आउँदा कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालबाट अध्ययन र व्यवसायका लागि चीन गएका नेपाली नागरिकहरूलाई सरकारले नेपाल वायु सेवा निगमको जहाजबाट ४ फागुनमा उद्धार गरी ल्याएको थियो ।