Swornakshar Logo

कामदारले पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या पछि गरे आत्महत्याः सीसीटीभी फुटेज

२७ माघ । काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा काम गर्ने विजय चौधरीले हत्या गरेको प्रहरीले बताएको छ । घरमा रहेको सीसीटीभी फुटेज हेर्दा चौधरीले नै कार्कीमाथि आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले बताएको हो ।

सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको र भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपाल समातेर भुइँमा बजारेको देखिएको प्रहरीले बताएको छ ।

मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने कामदार चौधरी पनि घरमै मृत फेला परेका थिए ।

पूर्व सचिव अर्जुन कार्की मन्दिर गएका बेला भयो श्रीमतीको रहस्यमय हत्या

प्रहरीका अनुसार दाङ घर भएका विजय चौधरीले कार्कीमाथि आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने बताइएको छ । उनको शव फेला परेको स्थानमाथि डोरी झुण्डिएको पाइएको छ । शवमा कुनै चोटपटक पनि छैन ।

चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आफै आत्महत्या गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन ।

पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।

घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।