Swornakshar Logo

फोन नउठाएको रिसमा विवाहित प्रेमिकाको हत्या

२६ माघ । काठमाडौं । फोन नउठाएको रिसमा आफ्नो विवाहित प्रेमिकाको हत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका वडा नं ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत २५ वर्षीय सुरेन्द्रप्रसाद साह रहेका छन् ।

साहले सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या गरेको खुलेको छ ।

गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा परियारको घाटी काटिएको र घाटीमा सलले बेरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

उक्त महिलाको शव सनाखतको लागि फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमबाट हुलिया परिपत्र गरेपश्चात शव बसन्त परियारकी श्रीमती सम्झना खत्री परियारको रहेको खुलेको थियो ।

प्रहरी अनुसन्धानको क्रममा साह र मृतक सम्झना खत्री परियारवीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको थियो । त्यसैको आधारमा प्रहरी ले साहलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार सम्झना माघ २१ गते मंगलबार बिहान १० बजेदेखि साहको सम्पर्कमा नरहेकाले उनले पटक–पटक फोन गरेका थिए । सम्झनाले फोन नउठाएपछि साह उनकै घरमा भेट्न गएका थिए । तर, घरमा कोही फेला नपरेपछि उनी फर्केका थिए ।

सम्झनालाई खोज्न करिब चार बजेतिर साह पुन वरपरको क्षेत्रमा डुलिरहेको बेला बाँसबारी चोक अगाडि भेटेपछि उनलाई मोटरसाइकलमा राखेर विराटनगर महानगरपालिका–१२ पुर्याएका थिए ।

प्रहरीका अनुसार त्यहाँ पुगेर कुरा गर्दा दुई जनाबीच वादविवाद भएपछि आक्रोशमा साहले सम्झनाको सल घाँटीमा बेरेर तान्दै उखुबारीमा पुर्याएर धारिलो बाँस प्रयोग गरी घाटी रेटेर हत्या गरेको हो । साहले सम्झनाको हत्या आफूले नै गरेको प्रहरी समक्ष बयान पनि दिएका छन् ।

प्रहरीले साहबाट मोटरसाईकल र दुईवटा मोबाइल पनि बरामद गरेको छ ।