Swornakshar Logo

धनगढी विमानस्थल स्तरोन्नती गर्ने २२ अर्ब लगानी प्रस्ताव

२५ माघ । धनगढी । सुदुरपश्चिमको धनगढी विमानस्थललाई स्तरोन्नती गर्न संघीय सरकारले २० वर्षे गुरु योजना बनाएको छ। आउँदो २० वर्ष भित्र विमानस्थलको स्तर बृद्धि गर्ने गरी बनाईएको गुरुयोजना सार्वजनिक गरिएको छ। नेपाल सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले धनगढी विमानस्थलको २० वर्षे गुरु योजना सार्वजनिक गरेको हो।
संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको उपस्थितीमा धनगढीमा आयोजित कार्यक्रमका बिच आज गुरु योजना सार्वजनिक गरिएको छ। काठमाडौँको रियल पाथ इन्जिनीयरिङ कन्सल्टेन्सीले तयार गरेको गुरु योजना अनुसार विमानस्थलको स्तर बृद्धि एवंम क्षेत्रफल विस्तारका लागि मौज्दात ७० बिघा समेत गरी दुई सय ९७ बिघा जग्गा आवश्यक पर्ने उल्लेख छ।

कन्सल्टेन्सीका कार्यकारी निर्देशक गुरुदत्त अधिकारीले विमानस्थलको स्तर बृद्धिका लागि अहिले मौज्दात रहेको समेत गरी दुई सय ९१ बिघा जग्गा आवश्यक पर्ने बताए। उनले अहिले विमानस्थल कार्यालयसंग ७० बिघा जग्गा मौज्दात रहेपनि थप दुई सय २७ बिघा अधिग्रहण गर्नुपर्ने बताए।

यस्तै अहिले कायम रहेको १८ सय मिटरको धावनमार्गलाई बढाएर साढे २५ सय बनाउन प्रस्ताव गरिएको उनले दिनेश खबरलाई बताए। विमानस्थलको चौडाई भने ४५ मिटर रहनेछ। विमानस्थलको धावनमार्ग १८ सय बाट २५ सय ५० मिटरमा विस्तार गर्दा पूर्वतर्फ र पश्चिमतर्फ के कती क्षेत्रफल विस्तार गर्ने भन्ने कुरा खुलाईएको छैन्।

तर दुई तर्फ ७ सय मिटर धावनमार्ग विस्तार गरिने दावी गरिएको छ। विमानस्थलको स्तरबृद्धिका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण र अन्य क्षेत्रफल विस्तारका लागि झण्डै २२ अर्ब लगानी प्रस्ताव गरिएको छ। कन्सल्टेन्सीले जग्गा अधिग्रहणका लागि मात्र पाँच अर्ब प्रस्ताव गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।

उनले प्रस्ताव गरिएअनुसारको जग्गा अधिग्रहणका लागि चालु वर्षमै आवश्यक प्रक्रिया थालिने जानकारी दिएका छन्। ‘विमानस्थलसंग अहिले ७० बिघा जग्गा छ तर स्तरोन्नतीका लागि दुई सय ९७ बिघा प्रस्ताव गरिएको छ।’ पोखरेलले भने, ‘त्यो बमोजिम हामी नगरपालिकालाई लेख्छौँ। चालु वर्षमै अधिग्रहणका लागि नेपाल सरकारमा पठाउँछौँ। चाडै जग्गा अधिग्रहण गर्न सकिए छिट्टै अन्य काम पनि सुचारु गछौँ।’

पहिलो पाँच वर्षमा मात्र उक्त काम सम्पन्न गर्ने भनिएकाले ढिलाई हुने आशंका गरिएको छ। तर यसक्षेत्रका सरोकारवालाले भने चाडै अधिग्रहणको प्रक्रिया थालिनुपर्नेमा जोड दिएका छन्।
उनले समयमै जग्गा अधिग्रहणको विषय टुङग्याउनुपर्ने उल्लेख गर्दै भने, ‘विमानस्थल आसपासमा घर लगायतका भौतिक संरचना निर्माण हुँदैछन्, जनताको लगानी व्यर्थमा खेर नजाओस।’ हमालले थपे, ‘जग्गा एयरपोर्टले लिदैछ भने जानकारी भए नागरिकले संरचना बनाउँदैनन्, जसले अधिग्रहणमा सजिलो हुन्छ।’

त्यसका लागि सम्बन्धीत निकायले अहिलेदेखि नै नागरिकलाई जानकारी गराउनुपर्ने उनको भनाई थियो। नीजि क्षेत्रको अगुवाईमा निर्माण गरिएको धनगढी विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले चाडै जग्गा अधिग्रहण गरी अन्य प्रक्रियालाई पनि तिव्रता दिन सरकारसंग आग्रह गरे। ‘धनगढीलाई कसरी हुन्छ छिटो भन्दा छिटो क्षेत्रिय तथा अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्छ।’कुवँरले भने। अन्तराष्ट्रिय विमानस्थलका रुपमा धनगढीलाई विकास गरे प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने जनाए।

यता संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पनि धनगढी विमानस्थल विस्तारसंगै बन्द अवस्थामा रहेका कञ्चनपुरको मझगाउँ र टीकापुर विमानस्थललाई पनि पुनः सञ्चालनमा ल्याउन प्राथमिकताका साथ काम गरिरहेको दावी गरेका छन्। तर विगतमा धनगढी विमानस्थलको गुरु योजना नबनेकाले स्तरोन्नतीको प्रक्रिया सुरु गर्नमै ढिलाई भएको जिकिर गरिएको छ।