Swornakshar Logo

रानाथारुले आदिवासी जनजातिको पहिचान पाउँदा धनगढीमा मनाए दिपावली (फोटो फिचर) सहित

२३ माघ । काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका रानाथारु समुदायले अलगै पहिचान पाएका छन् । सरकारले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको रानाथारू समुदायलाई आदिवासी जनजातिका रूपमा अलग्गै पहिचान दिने निर्णय गरेको छ । २०५७ सालदेखि संघर्ष गर्दै आएको यो समुदाय बल्ल आएर जनजातिमा सूचिकृत भएको छ ।

यही २० माघमा बसेको मन्त्रिपरिषद् बैठकले रानाथारूलाई आदिवासी जनजातिमा सूचिकृत गरेको नेकपा नेता तथा प्रतिनिधिसभा सांसद नारमुनि रानाथारूले बताए ।

२०५७ सालदेखि नै हामीले आदिवासी जनजातिमा सूचिकृत गर्न माग गरेका थियौँ, तर पाएनौँ, सांसद रानाथारूले भने, दुई दशकदेखिको संघर्ष अहिले आएर पूरा भएको छ । हाम्रो पहिचान सुरक्षित भएको छ ।

यसअघिसम्म ५९ वटा आदिवासी जनजाति सूचिकृत भएकोमा अब रानाथारू पनि थपेर नेपालमा जम्मा ६० वटा आदिवासी जनजाति सूचिकृत भएका छन् । सांसद रानाथारूले भने, ‘हाम्रो समुदायको माग आदिवासी जनजातिमा सूचिकृत हुनुपर्छ भन्ने थियो, चुनावमा पनि जनतासँग मैले रानाथारूको पहिचान स्थापित गराउँछु भनेको थिएँ । जे होस्, ढिलै भए पनि सरकारले हाम्रो माग सुनेको छ । हाम्रो अलग्गै पहिचान स्थापित भएको छ ।’

पहिचान स्थापित भएपछि उक्त समुदायले धनगढीको पार्कमोडमा दिपावली गरेर निर्णयको स्वागत गरेका छन् ।

विहिबार साँझ आयोजित उक्त दिपावली कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारदमुनी राना र प्रदेश सभा सदस्य मालामती राना लगायतको सहभागिता रहेको थियो।

सरकारले विभिन्न जातजातिलाई सूचिकृत गर्दा सुदूरपश्चिमका रानाथारु समुदायलाई अलग जातिका रुपमा सूचिकृत गरेको थिएन । रानाथारु समुदायले शुरुदेखि नै आफूहरूलाई अलग जातिका रुपमा सूचिकत गर्न माग गर्दै आएका थिए ।

नेपालमा कैलाली र कञ्चनपुर जिल्लामा मात्रै रानाथारु समुदायको बसोबास रहेको छ । यहाँ रानाथारु समुदायको साढे तीन लाख बढि जनसंख्या रहेको छ।