Swornakshar Logo

सामूहिक बलात्कारपछि हत्या, मोबाइल अन भएपछि पक्राउ

२१ माघ । हेटौडां । मकवानपुर प्रहरीले तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार (आज) बिहान पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको हो । हेटौंडा उपमहानगरपालिका–११ की भुजेलको माघ ४ गते राति हत्या भएको थियो ।

प्रहरीका अनुसार हेटौँडा–५ क्षम्पाडाँडास्थित कालित्लोपथमा अजिताको शव फेला परेको थियो । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपछि पैसाका विषयमा विवाद हुँदा अजिताको हत्या भएको अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न आरोपमा प्रहरीले हेटौँडा–४ का २५ वर्षीय सुशील थापामगर, हेटौँडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौँडा–११ की २० वर्षीया एलिशा पाख्रिन, हेटौँडा–४ का २४ वर्षीय आशिष बल र हेटौँडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापामगरले भुजेलसँग हेटौँडा–११ थानाभर्‍याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी अजितासँग यौन सम्पर्क गरेका थिए । तर, सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सामूहिक यौन सम्पर्कपछि हत्या गरेको र उनीहरूले ट्रकमै शव हालेर क्याम्पाडाँडामा फालेका थिए ।
प्रहरीले अजिताको हराएको मोबाइलबाट हत्यारा पत्ता लगाएको हो । अजिताको मोबाइल घटनामा संलग्न बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । उनले त्यो मोबाइल आफ्नी पत्नी एलिशालाई दिएका थिए । त्यही मोबाइल अन भएपछि प्रहरी घटनाको सबै विवतरण पत्ता लगाउन सफल भएको हो । सोही कारण एलिशा पनि पक्राउ परेकी हुन् ।

काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरी टोलीले गरेको अनुसन्धानबाट उनीहरूलाई पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका एसपी राठौरले जानकारी दिए । घटनामा संलग्न अझै २ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।