Swornakshar Logo

कोरोना भाइरस फैलिएपछि किमाथाङ्का नाका बन्द, १४ नेपाली अलपत्र

२१ माघ । काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका अहिले बन्द भएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो । कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली नाका बन्द भएपछि सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताए ।

अध्यक्ष भोटेका अनुसार १४ जनामा १२ जना सङ्खुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेका छन् । उनीहरूलाई नेपाल फर्काउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको अध्यक्ष भोटेले बताए ।

भोटखोला गाउँपालिका चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले भोटखोला नागरिकलाई सतर्क हुन उनले आग्रह गरेका छन् । कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ ।

खाद्यान्न सङ्कटको अवस्थाः

चीनले यही किमाथाङ्का नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न सङ्कट हुने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए । उनले भने, हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावका बारेमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका छौँ । सदरमुकामदेखि पाँच दिनको पैदलमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन् ।

किमाथाङ्का गाउँ र चीनको चाँगा बजार बीचमा रहेको कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन् ।

सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले किमाथाङ्काका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो । भोटखोलाका प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्न र ढुवानीका लागि हेलिकोप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गरिएको अध्यक्ष भोटेले बताए ।