Swornakshar Logo

सुनसरीमा बससँग हाइस ठोक्किँदा ४ जनाको मृत्यु, १५ घाइते

१९ माघ । काठमाडौं । आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र हाइस एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आइतबार बिहान करिब ७ बजेतिर झापाबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७०५ नम्बरको बस सुनसरीको रामधुनी नगरपालिका २ कृषिफर्म नजिक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु हुनेमा हाइसका चालक धादिङको बैरेनी– ३ का दीपक खड्का, झापाको भद्रपुर– ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका पति हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

घाइतेमध्ये ९ जनाको गोल्डेन अस्पतालमा, ४ जनाको एपेक्स अस्पतालमा र २ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय पकलीका अनुसार बस चालकलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको बताइएको छ ।