Swornakshar Logo

जुवा खेल्न आएका बंगलादेशी नागरिक मोहिद्दिनको आफ्नै साथीबाट हत्या

१६ माघ । काठमाडौं । बंगलादेशको राजधानी ढाकाका ४५ वर्षीय मोहिद्दिन अहमद प्रायजसो काठमाडौंका क्यासिनोमा जुवा खेल्न आइरहन्थे । ६ माघमा पनि मोहिद्दिन क्यासिनो पसेर जुवा खेल्न भनि काठमाडौँ आएका थिए ।

मोहिद्दिनले यो पालि क्यासिनो खेल्नकै लागि बंगलादेशबाट एक जना दुल्लामियाँ नामका साथीसमेत ल्याएका थिए । उनीहरु बस्नको लागि सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्ला पुगे । ग्राण्ड भिल्लाका उनी नियमित ग्राहक थिए । होटलमा उनै मियाँको नामबाट १ सय १४ नम्बरको कोठा बुक गरिएको थियो ।

६ माघमा काठमाडौं पुगेका उनी ७ माघमा क्यासिनो जाने योजनामा थिए । तर क्यासिनो जानु अघि नै उनको हत्या भएको खबर बाहिरियो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीसएपी) रुगम कुँवरका अनुसार मोहिद्दिनको हत्या उनीसँगै आएका उनका साथी दुल्लामियाँले गरेको खुलेको छ ।

दुल्लामियाँले ह्वीस्कीको बोतलले टाउको र घाँटीमा हानेर हत्या गरेको खुलेको छ । डीएसपी कुवँरले भने, हत्या भएको सूचना ढिलो पाउँदा दुल्लामियाँ हत्यापछि वीरगञ्जहुँदै भारत भागेका छन् । होटलका सञ्चालकले मोहिद्दिनको हत्या भएको सूचना ८ माघमा मात्रै प्रहरीलाई गरेका थिए ।

७ माघमा हत्या गरी फरार रहेका दुल्लामियाँलाई प्रहरीले काँकडभिट्टा हुँदै काठमाडौँ आउने क्रममा लहानबाट बुधबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका दुल्लामियाँले प्रहरीसँगको प्रारम्भिक बयानमा मोहिद्दिनले तीन वर्षअघि बंलादेश हुँदै लेबनान पढाउने भन्दै तीन लाख बंलादेशी रुपैयाँ लिएको बताएका छन् ।

तीन वर्षदेखि विदेश पठाउँछु भनेर पैसा लिए पनि मोहिद्दिनले दुल्लामियाँलाई विदेश नपठाएको र पैसा पनि फिर्ता नगरेका कारण उनको नेपालमा हत्या गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले बताए । पक्राउ परेका मियाँलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ

हत्यापछि बुधबार वीरगञ्जहुँदै काँकडभिट्टाबाट बंगलादेश छिर्न खोजेका उनी जान नसकेपछि फेरि काठमाडौँ फर्किने क्रममा पक्राउ परेका हुन् ।