Swornakshar Logo

विप्लवका नेताहरू बुटवलको उच्च अदालत गेटबाट पक्राउ

१४ माघ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव नेतृत्वका दुई जना नेता पक्राउ परेका छन् । उच्च अदालत बुटवल इजालसबाट बालकृष्ण शर्मा र प्रदीपबहादुर वलीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ । शर्मा र वलीलाई रिहाको आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।

आज पक्राउ परेका शर्मा र वलीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । शर्मा र वलीलाई माघ ८ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गरे पनि तत्कालै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

नवलपरासीमा विप्लव नेता शर्मा र वलीले प्रहरीलाई अभद्र व्यवहार गरेको मुद्दा दायर गरिएको थियो । उक्त मुद्दा झुटा र थुना गैरकानुनी रहेको भन्दै डिल्लीबहादुर वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाइ गर्दै मुख्य न्यायाधीश बाबुराम रेग्मी र दुर्गाबहादुर विकको संयुक्त इजलासले अभद्र व्यवहारको मुद्दा विश्वासलायक नरहेको कारण देखाउँदै दुइजनालाई थुनामुक्त गर्न आदेश दिएको थियो ।