८ लाख घूससहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउ
१० माघ । काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई ८ लाख घूससहित अख्तियारले पक्राउ गरेको छ । घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले दुवै जनालाई रंगेहात पक्राउ गरिएको बताएको हो ।
अख्तियारका अनुसार जुनिचाँदे गाउँपालिका–५ का विभिन्न उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका काममा घूस लिएको भन्ने सूचना पाएपछि आज दिउँसो करिब २ बजे अध्यक्ष केसीसहित उपाध्यक्षका आचार्यका श्रीमान् बस्नेत कटकुवा हेल्थपोस्टनजिकैबाट पक्राउ परेका हुन् ।
सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घूस मागेको जानकारी आएपछि अख्तियारको उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघराज सापकोटाले बताए ।
जुनिचाँदे गाउँपालिका–५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न भएपश्चात् रकम भुक्तानीका लागि बिल पेस गरेकोमा बिल भुक्तानीका लागि घूस माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए ।
उनले भने, ‘घूसबापतको रकम लिइसकेको अवस्थामा गाउँपालिका अध्यक्षलाई पक्राउ गरिएको छ । नियन्त्रणमा लिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।’
सुर्खेतमा वीरेन्द्रनगरको शुभ होटलमा प्रदेश विकास परिषद्को बैठक चलिरहेका बेला अध्यक्ष केसी बैठकमा भाग लिनुभन्दा उपभोक्ता समितिका सदस्यसँग घूस माग्नका लागि वीरेन्द्रनगर–७ को कटकुवामा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्: